काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विक्री गरेको धितोपत्रको भुक्तानी समयमै नपाएको भन्दै दैनिक दर्जनौं उजुरी पर्ने गरेका छन् । बोर्डले पछिल्लो समय राफसाफ समयमै नभएको भन्दै उजुरी गर्नेको संख्या बढ्दै गएको जानकारी दिएको हो । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले यसअघि पनि बोर्डमा समयमै राफसाफ नभएको गुनासो पर्ने गरे पनि पछिल्लो समय त्यसको संख्यामा उल्लेख्य बढेको बताए ।
लगानीकर्ताबाट परेको उजुरीको प्रकृति हेरेर बोर्डले समस्या समाधानका लागि काम गरिरहेको देवकोटाको भनाइ छ । ‘दैनिक दर्जनभन्दा बढी उजुरी पर्ने गरेको छ,’ उनले भने, ‘कतिपय लगानीकर्ताले उजुरी दिएको एकाध घण्टामै मेरो समस्या समाधान भयो भन्दै फिर्ता लिएको अवस्थासमेत छ ।’
दैनिक उजुरीको संख्या बढ्न थालेपछि बोर्डको सम्बद्ध विभागले सम्बद्ध ब्रोकर कम्पनीसँग आवश्यक समन्वय गरी समाधानको पहल गरिरहेको देवकोटाले बताए । कतिपय उजुरीको प्रकृति हेर्दा बोर्डले विशेष निगरानी राख्नुपर्ने अवस्था समेत देखिएको देवकोटा बताउँछन् । त्यस्ता प्रकृतिका उजुरी जायज हुन या हैनन् भन्ने विषयमा बोर्डको सम्बद्ध विभागले आवश्यक छानबिन गरिरहेको देवकोटाले जानकारी दिए ।
लगानीकर्ता होमबहादुर खड्काले कुनै एक ब्रोकरको नाम लिँदै २ महीनासम्म पनि धितोपत्र विक्री गरेको रकम भुक्तानी नपाएको गुनासो गरे । आफूजस्ता धेरै लगानीकर्ता ब्रोकरको यो गतिविधिबाट पीडित भएको खड्काको गुनासो छ ।
नेपालको धितोपत्र बजारमा भएको कारोबारको राफसाफ तथा फस्र्योट कारोबारपछिको दुई कार्य दिन अर्थात टी प्लस टूमा हुने व्यवस्था छ । २०७७ माघ ११ गतेदेखि टी–प्लस थ्रीको व्यवस्थालाई घटाएर टी प्लस टू कायम गरिएको हो । धितोपत्र राफसाफ तथा फस्र्योट चक्र छोटो हुँदा बजारमा कारोबार हुने धितोपत्रको तरलता वृद्धि हुने, लगानीकर्ताले खरीद गरेको धितोपत्र अझ छिटो प्राप्त गरी पुन: विक्री गरी मुनाफा आर्जन गर्न सक्ने भएकाले पूँजीबजारमा सकारात्मक प्रभाव पर्ने विश्वास सहित टी प्लस टूको व्यवस्था लागू गरिएको हो । उक्त व्यवस्थाको सही कार्यान्वयन नभएको गुनासो लगानीकर्ताबाट आएपछि बोर्डले विशेष निगरानी बढाएको हो ।
ब्रोकरहरू भने कानूनले तोकेको परिधिभित्र रही तोकिएको जिम्मेवारी पूरा गर्न सदैव प्रयत्नरत रहेको बताउँछन् । स्टक ब्रोकर एशोसिएशन अफ नेपालले विज्ञप्ति नै जारी गरेर शेयर विक्रेता लगानीकर्ताले शेयर विक्री बापतको रकम प्राप्त नगरेको एउटै मात्र पनि उदाहरण इतिहासमै नभएको दाबी गरेको छ । कहिलेकहीँ पूर्वानुमान नगरिएका प्राविधक तथा प्रक्रियागत समस्याका कारण लगानीकर्तालाई समयमै सेवा प्रदान गर्न नसकेको अवस्थामा सबैलाई जानकारी गराउँदै सम्बद्ध निकायसँगको समन्वयमा समस्या समाधान गर्न पहल गर्दै आएको एशोसिएशनले बताएको छ ।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालले विज्ञप्ति नै जारी गरेर शेयर विक्रेता लगानीकर्ताले शेयर विक्री बापतको रकम प्राप्त नगरेको एउटै मात्र पनि उदाहरण इतिहासमै नभएको दाबी गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।