काठमाडौं । गत माघमा चालू आर्थिक वर्ष (आव) का अरू महीनाको तुलनामा ज्यादै कम विदेशी लगानी प्रतिबद्धता आएको तथ्यांक सार्वजनिक भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा ३४ करोड ५० लाख रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता आएको छ ।
माघको विदेशी लगानी प्रतिबद्धता पुसको तुलनामा झन्डै ८० प्रतिशत कम हो । माघमा विदेशी लगानीका परियोजना स्वीकृति पनि सबैभन्दा कम छ । माघमा विदेशी लगानी हुने १५ ओटा परियोजना स्वीकृत भएको विभागको भनाइ छ । चालू आव २०८०/८१ को पहिलो महीना साउनको तुलनामा त्यसयताका महीनामा परियोजना स्वीकृति र लगानी प्रतिबद्धता क्रमश: घट्दै आएकोमा माघमा झनै खस्केको हो ।
विभागको तथ्यांकले साउनमा सबैभन्दा धेरै परियोजना दर्ता भएको देखाउँछ । फलस्वरूप साउनको विदेशी लगानी प्रतिबद्धता रकम पनि अरू महीनाको दाँजोमा धेरै छ । साउनमा ६० परियोजना स्वीकृत हुँदा ११ अर्ब ९३ करोड रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता आएको थियो ।
साना, मझौला र ठूला उद्योग/परियोजनाको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत गराउनुपर्ने कानूनी व्यवस्था छ । माघमा साना आकारका परियोजना मात्रै विभागबाट स्वीकृत भएका छन् । माघमा स्वीकृत १५ ओटै परियोजना साना आकारका हुन् ।
विभागका अनुसार चालू आवको साउनदेखि माघसम्ममा २२ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा विभागबाट २४१ परियोजना स्वीकृत भएका छन् । अघिल्लो आव २०७९/८० मा ३८ अर्ब ४० करोड रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता आएको थियो । आउँदो वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने तयारी भइरहेका बेला विदेशी लगानी प्रतिबद्धता घटेको तथ्यांक सार्वजनिक भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।