निरन्तर नाफामा विद्युत् प्राधिकरण चालू आर्थिक वर्षको ६ महीनामै कमायो १५ अर्ब ३६ करोड

Share News

काठमाडौं । पछिल्ला वर्षहरूमा निरन्तर नाफामा रहेको नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीना (साउन–पुस) मा १५ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ । प्राधिकरणले विद्युत् विक्री, ब्याज तथा अन्य शीर्षकबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रूपैयाँ आम्दानी गरेको जानकारी दिएको छ । उक्त अवधिमा प्राधिकरणले करअघि १५ अर्ब ३६ करोड ६ लाख रूपैयाँ नाफा आर्जन गरेको हो । गत आव २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रूपैयाँ थियो । 

गत आवको पहिलो ६ महीनाको तुलनामा यसपालि सोही अवधिमा प्राधिकरणको नाफा ४ अर्ब ४४ करोड ४६ लाख रूपैयाँले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड रूपैयाँ थियो । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटा बेहोरेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक खपत र भारत निकासी वृद्धिको फलस्वरूप आम्दानी वृद्धि, खर्च नियन्त्रणलगायत कारणले चालू आवको पहिलो ६ महीनामा उल्लेख्य नाफा आर्जन भएको बताए । यस अवधिमा प्राधिकरणले विद्युत् खरीद, प्रशासनिक, आयोजनालगायतमा ५१ अर्ब ९२ करोड ७१ लाख रूपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश: विद्युत् विक्री र खरीद तथा आयोजनाहरूमा हुने गरेको छ । ‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकेका छैनौं, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा हरेक वर्ष अर्बौं रूपैयाँ लगानी गरिरहेका छौं, कार्यकारी निर्देशक घिसिङले भने, ‘विद्युत्मा आत्मनिर्भर बन्न, आन्तरिक रूपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय तथा भरपर्दो बिजुली उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूमा आगामी वर्षहरूमा १०/१२ खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्छ । प्राधिकरणले चालू आवको ६ महीनामा विद्युत् विक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरीद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो ।

चालू आवको पहिलो ६ महीनामा प्राधिकरणले १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारत निकासी गरेको छ । सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) लाई विक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरिरहेको छ । 

समीक्षा अवधिमा १ अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात गरिएको छ । सुक्खायाम शुरू भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट आयात भइरहेको छ । गत साउनदेखि पुससम्ममा २२ करोड ५ लाख युनिट विद्युत् आयात गरिएको छ । वर्षायाम शुरू भएसँग फेरि विद्युत् निर्यात गरिने प्राधिकरणको भनाइ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।