वीरगञ्ज । भन्सार विभागको सर्भर अवरुद्ध हुँदा जाँचपास प्रक्रियामा ढिलाइ भइरहेको छ । भन्सारको सर्भर प्रभावकारी नभएकाले व्यापारको लागत बढेको भन्दै भन्सार एजेन्टहरूले तत्काल समस्या समाधान गरिदिन भन्सार विभागलाई आग्रह गरेका छन् ।
भन्सार एजेन्ट महासंघ नेपालका पदाधिकारीले विभागका महानिर्देशक शोभाकान्त पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । भन्सारको सर्भर नचल्दा जाँचपासमा ढिलाइ भइरहेको र यसको नकारात्मक प्रभाव व्यापारको लागतमा परेको उनीहरूले बताएका छन् ।
महासंघका अध्यक्ष भरतराज घिमिरेसहितको टोलीले महानिर्देशक पौडेललाई भेटेको थियो महानिर्देशक पौडेलले समस्याको चाँडै समाधान गर्ने आश्वासन दिएको अध्यक्ष घिमिरेले जानकारी दिए । प्रज्ञापनपत्र भर्दा ओटीपी आउने प्रणाली बनाइएकोमा सर्भर डाउन हुँदा ओटीपी नै नआएको र यसबाट जाँचपास प्रक्रिया नै अवरुद्ध भएको घिमिरेले बताए । यसबाट जाँचपासमा ढिलाइ भइरहेको उनले गुनासो गरे ।
सर्भर प्रभावकारी नहुँदा भन्सारको राजस्व, यात्रु शाखाबाट हुने पैठारी र सवारीसाधन लिएर सिमानाबाट भित्रिने पर्यटकलाई पनि समस्या भएको भन्सार एजेन्टहरूको दाबी छ । स्थानीय इन्टरनेट सेवाप्रदायकले गुणस्तरीय सेवा नदिएकाले समस्या भएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन् । ‘एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहसँग जोडिएका अन्य निकाय र सरोकारवालाको प्रणालीमा समस्या हुँदा पनि यस्तो भएको हुन सक्छ । यो प्राविधिक विषय हो,’ उनले भने ।
भन्सारले अहिले आशिकुडा वल्र्ड प्रणाली प्रयोग गरिरहेको छ । यो प्रणाली स्वीटजरल्यान्डको कम्पनीले प्रदान गरिरहेको छ । आशिकुडा (अटोमेटेड सिस्टम फर कस्टम्स डाटा) संयुक्त राष्ट्रसंघीय निकाय यूएनसीटीएडी (युनाइटेड नेसन्स कन्फरेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट) ले विकास गरेको सफ्टवेयर हो । यो संसारका ९० भन्दा बढी देशका भन्सारले प्रयोग गर्छन् ।
सर्भर ढिला चल्दा आयातनिर्यात प्रभावित भएको आयातकर्ताका प्रतिनिधिहरूको भनाइ छ । आयातनिर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो भन्सार वीरगञ्जमा खुलेको वीरगञ्ज भन्सार एजेन्ट संघका अध्यक्ष राजमान तामाङले दिनमा २/४ घण्टा सर्भर जाने गरेको बताउँदै यसले आयातनिर्यात प्रभावित भएको गुनासो गरे । सबै प्रणाली अनलाइनमा गएको भनिए पनि प्रविधि प्रभावकारी नहुँदा जाँचपासमा बढी समय लागेको उनको भनाइ छ ।
प्रत्येक दिन मध्याह्नपछि सर्भरमा समस्या आउने गरेको वीरगञ्ज भन्सार एजेन्ट संघका पूर्वसहसचिव भानु अधिकारीले बताए । एउटै फारम दुईपटक प्रविष्ट हुने, भन्सार राजस्व समयमा तिर्न नसकिने, जाँचपासमा ढिलाइले गर्दा पार्किङ शुल्क बढी तिर्नुपर्नेजस्ता समस्या सामना गर्नु परिरहेको उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।