पूँजीबजारमा ४२ प्रतिशतभन्दा बढी महिला, प्रविधिसँग जोडिएको बजारमा अझै अभ्यस्त हुन सकेनन्

Share News

काठमाडौं । धितोपत्र बजारमा ४२ प्रतिशतभन्दा बढी महिला सहभागी रहेको देखिएको छ । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खातामध्ये ४२ दशमलव ४४ प्रतिशत महिलाको नाममा छ । 

फागुन २३ गतेसम्मको तथ्यांक हेर्दा कुल हितग्राही खाता संख्या ६२ लाख ५ हजार नाघेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार कुल हितग्राही खातामध्ये २६ लाख ३३ हजारभन्दा बढी महिलाको नाममा छ । यो कुल हितग्राही खाताको ४२ दशमलव ४४ प्रतिशत हो । पुरुषका नाममा ३५ लाख ६४ हजारभन्दा बढी हितग्राही खाता छ । त्यस्तै कर्पोरेटको ६ हजार ९४८ र अन्यको नाममा ५४ ओटा हितग्राही खाता खोलिएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानले जानकारी दिएका छन् । 

हितग्राही खाता धितोपत्र कारोबारका लागि अनिवार्य गरिएसँगै यो खाता खोल्ने क्रम निरन्तर बढिरहेको देखिन्छ । चालू आर्थिक वर्ष (आव) मा मात्र ३ लाख ८१ हजार २२५ ओटा हितग्राही खाता थपिएको न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार अघिल्लो आवको अन्त्यसम्म ५८ लाख २४ हजार २७९ हितग्राही खाता खोलिएका थिए । 

कुल हितग्राही खातामा करीब आधा अंश ओगटेका महिलाको दोस्रो बजारमा पनि ३० देखि ४० प्रतिशत स्वामित्व हुन सक्ने अनुमान स्टक ब्रोकर एशोसिएशनका उपाध्यक्ष सरिता विष्टको छ । ब्रोकर व्यवसायीका रूपमा लामो समयदेखि काम गर्दै आएकी विष्टले पहिलाको तुलनामा अहिले धितोपत्र बजारमा महिलाको सक्रियता बढिरहेको बताइन् । 

प्रविधिसँग जोडिएको यो बजारमा धेरै महिला अभ्यस्त नभएको अनुमान उनको छ । सामाजिक सञ्जाल सहज रूपमा चलाउने हाम्रा महिला दिदीबहिनीहरूले त्यत्ति नै चासो लिएर धितोपत्र कारोबारको प्रणालीसमेत चलाउन सक्ने विश्वास विष्टको छ । शुरुआती दिनदेखि नै पूँजीबजारमा लगानी गर्दै आएका महिला दिदीबहिनीले भने आफै कारोबार गरिरहेको उनले जानकारी दिएकी छन् । संख्यामा भएको महिला सहभागिताको अवस्था बजारमा प्रत्यक्ष कारोबारमा नभएको उनको भनाइ छ । 

महिलाहरू बजारमा सबै कुरामा अघि देखिए पनि निर्णय लिने काममा भने अझै पछि रहेको उनी बताउँछिन् । देशव्यापी रूपमा विस्तार भएको पूँजीबजारमा अझै धेरै महिला यसको पहुँचभन्दा बाहिर रहेकाले यसतर्फ नियामकसँगै सरोकारवाला सबैको ध्यान जान आवश्यक रहेको उनले बताइन् । पछिल्लो समय पूँजीबजारमा बढ्दै गएको महिला सहभागितालाई कायम राख्न र यो क्षेत्रबाट महिलाको जीवनस्तर उकास्न आरक्षण होइन, उनीहरूको आत्मबल बढ्ने वातावरण बन्नुपर्नेमा विष्टले जोड दिइन् ।

पूँजीबजारकी सक्रिय एवं सफल लगानीकर्ता दुर्गा तिवारीले पूँजीबजारलाई नै आफ्नो व्यवसायका रूपमा निरन्तरता दिएकी छन् । करीब २ दशक यो क्षेत्रमा बिताइसकेकी तिवारी पूँजीबजारमा महिला सहभागिता बढ्दै गए पनि दिगोपनमा समस्या रहेको बताउँछिन् । २०६३ सालमा आफू पूँजीबजार प्रवेश गर्दासम्म औंलामा गन्न सक्ने संख्यामा मात्र महिला लगानीकर्ता रहेको उनी सुनाउँछिन् । 

आर्थिक गतिविधिमा पुरुषको मात्र सहभागिताको ऐतिहासिक पृष्ठभूमिलाई चिर्दै धितोपत्र बजारका महिला लगानीकर्ताले संख्यात्मक मात्र होइन, गुणात्मक रूपमा पनि आफूलाई स्थापित गर्नुपर्ने आवश्यकता तिवारी औंल्याउँछिन् । पूँजीबजारलाई आफ्नो आम्दानीको क्षेत्र बनाएका महिला लगानीकर्ता आफ्नो पारिवारिक दायित्व पूरा गर्दै  परिवारको आर्थिक उन्नतिमा साझेदारसमेत बन्न सफल भएको तिवारीको भनाइ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।