काठमाडौं । एक व्यक्तिको बैंक खातामा भएको १० लाख १० हजार रुपैयाँ एकाएक गायब भएको छ । सुनसरी, इनरुवाका शिवनन्दन मेहताको सानिमा बैंकको इनरुवा शाखामा रहेको ०१००१११७००१३२७ नम्बरको खाताबाट गत माघ १० गते बिहान ९ लाख रुपैयाँ निकालिएको छ । सोही दिन उनकी आमा रुसनीदेवी मेहताको लुम्बिनी विकास बैंक लिमिटेड इनरुवा शाखामा रहेको ०१७११६०००६३२०२०००००१ नम्बर खाताबाट १ लाख १० हजार रुपैयाँ निकालिएको छ । कनेक्ट आईपीएसको माध्यमबाट ह्याकरले उक्त रकम निकालेको हो ।
शिवनन्दनको खातामा रहेको ९ लाख रुपैयाँ एनआईसी एशिया बैंक बुद्धचोक शाखामा रहेको परमेश्वर थापा क्षत्रीको खातामा पठाइएको छ । आमाको खाताको रकम भने सिद्धार्थ बैंक लिमिटेडमा रहेको खातामा पठाएर पटकपटक गरी निकालेको देखिन्छ । मेहताका अनुसार इमेल तथा पासवर्ड ह्याक गरी उक्त रकम चोरी भएको थियो ।
मेहता एन आई सी एशिया र सानिमा बैंकले लापरबाही गर्दा ह्याकरले खाताबाट रकम निकाल्न सफल भएको बताउँछन् । खाताबाट पैसा झिकेको भनेर मोबाइलमा अलर्ट आएलगत्तै बैंकमा सम्पर्क गरेर एकाउन्ट ह्याक गरी पैसा चोरी भएको उनले जानकारी दिए पनि ती बैंकले तत्कालै एक्शन लिन चासो नदेखाएको मेहताले आर्थिक अभियानलाई बताए ।
‘बैंकबाट पैसा ट्रान्सफरको अर्लट मोबाइलमा आएको ५ मिनेटमै मैले सम्बद्ध बैंकमै गएर जानकारी दिएँ तर चासो लिइएन । बैंकले तत्कालै अनधिकृत व्यक्तिको खाता निलम्बनमा राखेको भए, यत्रो घटना घट्ने थिएन,’ उनले भने, ‘त्यसैले बैंकमाथि पनि शंका छ ।’
एन आई सी एशिया बैंकले खाता बन्द गर्न नमिल्ने बताएलगत्तै मेहताले कनेक्ट आईपीएसको कार्यालयमा फोन गरी उक्त रकम होल्ड गरिदिनसमेत आग्रह गरेका थिए तर कार्यालयले पैसा निस्किसकेको बताएपछि आफ्नो केही नलागेको उनको भनाइ छ ।
सानिमा बैंक कोशी प्रदेशका अधिकारीले पीडितले जानकारी दिनेबित्तिकै बैंकले रकम रोक्का गर्न प्रयास गरेको दाबी गर्छन् । ‘तर, ह्याकरले रकम निकालिसकेकाले त्यो प्रयास सफल हुन सकेन । हामीलाई जानकारी आउनुअघि नै खातावालाको एकाउन्टबाट रकम निकालिसकेको देखियो,’ ती अधिकारीले भने, ‘हामीले केही गर्नै सकेनौं ।’ यस विषयमा बैंकले सूक्ष्म अनुसन्धान गरिरहेको नाम उल्लेख गर्न नमानेका ती अधिकारीले बताए ।
प्रहरीले समात्न सकेन
ह्याकरले ठूलो रकम चोरी गरेपछि मेहताले जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता गर्यो पनि । तर, अहिलेसम्म ह्याकरलाई समात्न सकेको छैन । मेहताका अनुसार प्रहरीले अनुसन्धान गरिरहेको बताउने गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की यस्ता घटनाका अपराधीलाई तत्काल समात्न कठिन हुने बताउँछन् । ‘जाहेरीपछि अनुसन्धान अघि बढिसकेको छ,’ आर्थिक अभियानसँगको कुराकानीमा एसएसपी कार्कीले भने, ‘अपराधी मुलुकबाहिर भएकाले सम्बद्ध देशसँग समन्वय गरेर खोजबिन गरी ल्याउनुपर्ने हुँदा समय लाग्नु स्वाभाविक हो ।,’
पछिल्लो समय कमजोर पासवर्ड राख्ने, सबै विवरण मोबाइलमै राख्ने गर्दा व्यक्तिका खातापाता सजिलैसँग ह्याकरसम्म पुग्ने गरेको कार्कीको भनाइ छ ।
नेपाल राष्ट्र बैंकदेखि सिंहदरबारसम्म हारगुहार
पीडित मेहताले नेपाल राष्ट्र बैंकदेखि गृह मन्त्रालयसम्म गुहारेका छन् । मेहनतले कमाएको आफ्नो खातामा रहेको ठूलो रकम एकैपटक ह्याकरले गायब पारेपछि उनले न्यायका लागि सिंहदरबारसम्म गुहारेका छन् । सिंहदरबारभित्रका गृह, अर्थ, प्रधानमन्त्री कार्यालयसम्मै रकम फिर्ता ल्याउन पहल गरिदिन उनले गुहार मागे पनि कसैले सुनिदिएका छैनन् । मेहताले माघ १५ गते नेपाल राष्ट्र बैंक बालुवाटारमा निवेदन हालेका थिए ।
‘म तथा मेरो आमाको नाममा रहेको एकाउन्टबाट चिनजान नभएको व्यक्तिले अनलाइनमार्फत १० लाख १० हजार रुपैयाँ रकमान्तर गरेको छ,’ उनले राष्ट्र बैंकलाई लेखेको पत्रमा भनिएको छ, ‘उल्लिखित रकम फिर्ता गराई सहयोग गर्नु हुन अनुरोध गर्दछु ।’ नेपाल राष्ट्र बैंकलाई आफूले पत्र पठाए पनि अहिलेसम्म कुनै सहयोग नपाएको मेहताले बताए ।
नेपाल राष्ट्र बैंक पछिल्ला दिनमा यस्ता घटना बढेकाले अनुसन्धानसँगै नियमन पनि बढाएको बताउँछ । यस्ता घटना हेर्न राष्ट्र बैंकले छुट्टै एकाइ बनाएर अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय डिजिटल कारोबार बढेसँगै ठगीका घटना बढ्न थालेको बताए । ‘कमजोर पासवर्ड राख्ने, ओटीपी (वान टाइम पासवर्ड) दुरुपयोगका कारण यस्ता घटना बढेका छन् । यसबारे हामी संवेदनशील छौं,’ उनले आर्थिक अभियानसँगको कुराकानीमा भने ।
श्रेष्ठका अनुसार ह्याकरले खातावालाको रकम जहाँ बसेर पनि गायब गर्न सक्ने भएकाले त्यो चुनौतीका रूपमा देखापरेको छ । चुनौती चिर्न वित्तीय साक्षरता बढाउनेदेखि समग्र बैंकिङ सुरक्षा प्रणालीलाई बलियो बनाउनेतर्फ राष्ट्र बैंक अग्रसर भइरहेको उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।