अवैध आयातले चुइङगम उद्योग संकटमा

Share News

वीरगञ्ज । उद्योगले आयात गर्ने कच्चा पदार्थमा सरकारले उच्च दरको भन्सार महशुल लिन थालेपछि सीमावर्ती क्षेत्रबाट भारतीय चुइङगमको अवैध आयात बढेको उद्योगीले बताएका छन् । अधिक उत्पादन लागतका कारण यसका स्वदेशी उद्योग भने धराशयी हुने अवस्थामा पुगेको उद्यमीको गुनासो छ । 

भन्सारबाट बढी राजस्व उठाउने नीतिले स्वदेशी उद्योग संकटमा पर्नु विडम्बना भएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम बताउँछन् । स्वदेशी बजारमा अवैध आयातले कब्जा जमाएपछि स्थानीय उद्योगमा ताला लगाउने अवस्था आएको गुनासो उद्योगीहरूको छ । 

भन्सारले गतवर्षदेखि चुइङगम उद्योगको मुख्य कच्चा पदार्थको एचएस कोड परिवर्तन गरी बढी महशुल लिन थालेको हो । यसअघि ‘र गम’ उल्लेख भएर आउने कच्चा पदार्थलाई भन्सार विभागले ‘गम बेस’मा वर्गीकरण गरी बढी राजस्व तिराउन थालेपछि स्वदेशी उद्योगमाथि संकट छाएको  उद्यमी बताउँछन् । 

यसअघि ५ प्रतिशत भन्सार राजस्व तिरेर भित्त्याउने गरिएको कच्चा पदार्थलाई अहिले ३० प्रतिशत महशुल तिर्नु परेपछि उत्पादन चौपट भएको उद्योगी निरञ्जन अग्रवालले बताए । ‘सरकारले कच्चा पदार्थको वर्गीकरण नै परिवर्तन गरी बढी राजस्व लिन थालेपछि उद्योगमा ताला लगाउने अवस्था आएको छ । विगतका वर्षहरूमा होली पर्वको बेला विक्री बढ्ने गरेकोमा यस वर्ष अहिलेसम्म यो पर्वलक्षित माग आएको छैन,’ अग्रवालले आर्थिक अभियानसँग भने । 

गम बेस आयात गर्दा ३० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर तिर्नुपरेको आयातकर्ता बताउँछन् । भारतबाट आयात हुने तयारी चुइङगममा २८ दशमलव ५ प्रतिशत भन्सार महशुल तोकिएको छ । खुला सिमानाको दुरुपयोग गरेर चुइङगम अवैध रूपमा भित्रिने गरेको व्यवसायीको दाबी छ । 

कच्चा पदार्थमा उच्च भन्सार महशुल र तयारी चुइङगमको अवैध आयातका कारण प्रतिस्पर्धा गर्न नसकिएको उद्योगी बताउँछन् । भन्सार विभागले गरेको कच्चा पदार्थको वर्गीकरण नै गलत भएको र यसबाट मुख्य कच्चा पदार्थको लागत बढी परेको उद्योगीको भनाइ छ । 

भारतको तुलनामा कच्चा पदार्थ, ढुवानी, श्रम र पूँजी सबै लागत महँगो भएकाले भन्सार छलेर भित्रिएको चुइङगमसँग प्रतिस्पर्धा गर्न नसकिएको अग्रवालले बताए । वीरगञ्ज, विराटनगर, पोखरा र बनेपामा यस्ता आठओटा उद्योग सञ्चालनमा छन् । 

चुइङगमको कुल खपतमध्ये ५० प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धान्दै आएको उद्यमीको भनाइ छ । सरकारले तत्काल यो ‘नीतिगत गल्ती’ नसच्याउने हो भने केही समयमै स्वदेशी चुइङगम उद्योग सधैंका लागि बन्द हुने चेतावनी उद्यमीले दिएका छन् । 

भन्सारबाट उठ्ने राजस्वमा मात्र ध्यान दिँदा स्वदेशमा उत्पादनको वातावरण बिग्रिएकोप्रति संघले पटकपटक सरकारको ध्यानाकर्षण गराएको उपाध्यक्ष गौतमले बताए । ‘कच्चा पदार्थमा तयारी वस्तुसरह भन्सार महशुल राखिएका अन्य थुप्रै वस्तु अवैध रुपमा आयात भइरहेको विषयमा अर्थ मन्त्रालय र अन्य सम्बन्धित अधिकारीको ध्यानाकर्षण गराएका छौं । यस्तो नीतिलाई तत्काल नसच्याउने हो भने उद्योग धराशयी हुन्छन्,’ गौतमले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।