काठमाडौं । धितोपत्र बजारमा हुने अडलट कारोबार पछिल्लो समय बढ्दो क्रममा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत वर्षको फागुनको तुलनामा यस वर्षको फागुनमा ९२ करोड ४३ लाख रुपैयाँभन्दा बढी उक्त कारोबार भएको हो ।
नेप्सेका अनुसार गत वर्ष फागुनमा १ करोड ८९ लाख रुपैयाँभन्दा बढीको मात्र अडलट कारोबार भएकोमा यस वर्ष सोही अवधिमा ९४ करोड ३३ लाख रुपैयाँभन्दा बढीको उक्त कारोबार भएको हो । यस वर्षको फागुनमा २० दिन धितोपत्र बजार सञ्चालन भएको छ भने गत वर्षको फागुनमा १७ दिन बजार सञ्चालन भएको थियो ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी प्रयोजनको इकाई अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता र अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता अडलट कारोबार इकाई हुने व्यवस्था छ ।
त्यस्तै धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भएको भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ भएको भए १ कित्ता कारोबार इकाई हुने व्यवस्था पनि उक्त विनियमावलीमा गरिएको छ । यस व्यवस्थालाई आधार मान्दा मूल्यका हिसावमा धितोपत्रको अडलट कारोबार इकाई तय गरिएको छ । उल्लेखित कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई कारोबार गर्न नपाउने व्यवस्था छ ।
अडलट कारोबारलाई नियमित बनाएसँगै लगानीकर्ताले यसलाई सकारात्मक रूपमा लिएर कारोबार गरिरहेको नेप्से बताउँछ । विशेष गरी बोनस शेयर प्राप्त भएको अवस्थामा आफूसँग भएका धितोपत्र अडलट हुने र त्यसलाई सहजै कारोबार गर्न सकिने भएकाले पनि यो कारोबार निरन्तर बढ्दो गतिमा रहेको बुझाई जानकार लगानीकर्ताको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक साधारण सभा सम्पन्न गरेका धेरैजसो कम्पनीले यस वर्षको बोनस शेयर फागुनमा दोस्रो बजारमा सूचीकृत गराइसकेका छन् । अडलट कारोबारले थोरै कित्ता थोरै रकममा खरीद गर्न चाहने लगानीकर्ताका लागि समेत अवसरका रूपमा रहेको बुझाई लगानीकर्ताको छ ।
यो कारोबार बढ्दै जाँदा यसको प्रभावकारितालाई समेत धितोपत्र बजार सञ्चालकले ध्यान दिनुपर्ने सुझाव लगानीकर्ताले दिएका छन् । कतिपय अवस्थामा कम्पनीको शेयर मूल्य अनावश्यक रूपमा वृद्धि गर्नका लागि समेत अडलट कारोबार हुने सक्ने भन्दै त्यसतर्फ सचेत हुनसमेत बजार सञ्चालकलाई लगानीकर्ताले सुझाव दिएका छन् ।
गत वर्षको फागुन र यो वर्षको फागुनमा अडलट कारोबार
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।