बंगलादेशलाई नेपालको आग्रह ‘नेपाली वस्तुमा अतिरिक्त भन्सार महशुल हटाऊ’

Share News

काठमाडौं । बंगलादेशले नेपाली वस्तुको आयातमा लगाउँदै आएको अतिरिक्त भन्सार महशुलका कारण नेपालको निर्यातमा असर परेको भन्दै नेपाली अधिकारीहरूले उक्त महशुल हटाउन बंगलादेशसँग आग्रह गरेका छन् ।

विगतमा बंगलादेशसँगको व्यापारमा नेपाल नाफामा भए पनि केही वर्षयता निरन्तर घाटामा छ । बंगलादेशले लगाउँदै आएको अतिरिक्त भन्सार महशुलको पनि बढ्दो व्यापारघाटामा हात रहेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन् ।

बुधवार काठमाडौंमा भएको परराष्ट्र सचिवस्तरीय तेस्रो ‘फरेन अफिस कन्सल्टेशन’ बैठकमा नेपालले उक्त कुरा उठाएको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानाकारी दिएको छ ।

१०८ वस्तुमा भन्साररहित सुविधा दिएको बंगलादेशसँग चिया, मासको दाल, कफी, अलैंची, अम्रिसो, फलफूल, पश्मिनालगायत थप वस्तुमा पनि त्यस्तो सुविधा मागिएको हो ।

मन्त्रालयका अनुसार परराष्ट्र सचिव सेवा लम्सालले बंगलादेशी समकक्षी मसुद बिन मोमेनलाई नेपाली वस्तुमा बंगलादेशले लगाउँदै आएको अतिरिक्त भन्सार महशुल पूर्णरूपमा हटाउन अनुरोध गरिन् ।

व्यापारमा देखिएका अवरोध हटाउन हाल लाग्दै आएको बंगलादेशी भन्सार महशुलबाट सृजना भएको समस्यालाई जोडतोडले उठाइएको परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृतबहादुर राईले आर्थिक अभियानलाई बताए ।

नेपालले यो विषय शुक्रवारदेखि काठमाडौंमै हुने वाणिज्य सचिवस्तरीय बैठकमा पनि उठाउने तयारी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले बताए ।

‘नेपाली वस्तुलाई भन्सार छूट गर्नेबारे यसअघि भएका समझदारी कार्यान्वयनमा नगएको विषय पनि हामीले उठाउँदै छौं । दुई देशबीचको व्यापार प्रवर्द्धनमा बैठक केन्द्रित हुनेछ,’ उनले भने ।

नेपालबाट बंगलादेशमा धेरैजसो गहुँ, मुसुरो दाल, जडीबुटी, अदुवा, अम्रिसो, धागोजस्ता कृषि उत्पादन निकासी हुन्छ । नेपाली ती वस्तुमाथि बंगलादेशी भन्सारले ‘चर्को ड्युटी’ लगाएका कारण निर्यात व्यापार खस्किएको सरकारी अधिकारीहरूको भनाइ छ ।

बंगलादेशले नेपालका कृषि उत्पादनसहित १०८ वस्तुमा भन्साररहित सुविधा दिँदै आएको छ । नेपालले चिया, मासको दाल, कफी, अलैंची, अम्रिसो, फलफूल, पश्मिनालगायत थप वस्तुमा पनि भन्साररहित सुविधा दिन आग्रह गर्दै आएको छ ।

मसला, बन्दा, गोलभेडा, एभोकाडो, अचार, गलैंचा र दुग्ध पदार्थ पनि बंगलादेश निर्यात गर्न सकिने वाणिज्य मन्त्रालयका अधिकारी बताउँछन् ।

बंगलादेशले पनि ६४ वस्तुमा भन्साररहित सुविधा खोज्दै आएको छ । खासगरी माछा, औषधि, जुस, सफ्ट ड्रिंक्स, काँचो जुटलगायतमा बंगलादेशले भन्साररहित सुविधा माग्दै आएको छ ।

तिवारीका अनुसार वाणिज्य सचिवस्तरीय बैठकमा दुई मुलुकबीच भन्सारमुक्त सुविधा, बजार पहुँच, पारवहनलगायत विषयमा गहन छलफल हुनेछ ।

अधिकांश वस्तु नेपालको पूर्वी नाकाबाट भारतको फूलबारी, बंगलादेशको चटगाउँ बन्दरगाह हुँदै जान्छ । उक्त बाटोबाट सामान बोकेर गएका ढुवानीका साधन भन्सार प्रक्रियाका लागि सिमानामा ४/५ दिनसम्म पर्खिनुपर्ने अवस्था रहेकाले खर्च बढी परेको विषय पनि वाणिज्य सचिवस्तरीय बैठकमा उठाउने तयारी रहेको तिवारीले जानाकारी दिए ।

नेपाली सीमाबाट ३० किलोमीटर दूरीमा रहेको बंगलादेशले केही वर्षयता आर्थिक उन्नतिमा छलाङ मार्दै गएको छ । फलस्वरूप उसको प्रतिव्यक्ति आय नेपालभन्दा ज्यादै उच्च छ । ठूलो जनसंख्या भएका कारण पनि  बंगलादेश संसारकै लागि आकर्षक बजारका रूपमा उदाएको छ । तर, नेपालले त्यसका फाइदा लिन सकेको छैन ।

साउथ एशिया वाच अन ट्रेन्ड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) ले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०६१/६२ देखि २०६९/७० सम्म नेपालले बंगलादेशमा आयातभन्दा बढी निर्यात गरेको तथ्यांक छ । त्यसयता नेपालबाट निर्यात कम र उताबाट आयात निरन्तर बढेको देखिन्छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले बंगलादेशमा ५७ करोड रुपैयाँ बराबर वस्तु निर्यात गरेको छ । उताबाट ६ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।

यसैबीच बुधवार भएको परराष्ट्र सचिवस्तरीय बैठकमा दुवै देशका सचिवहरूले बंगलादेश, भुटान, भारत र नेपालबीच यातायातका साधन एक देशबाट अर्कोमा निर्बाध जान पाउने गरी भएको सम्झौता (बीबीआईएन मोटर भेहिकल एग्रिमेन्ट) शीघ्र कार्यान्वयनमा जोड दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्रका प्रवक्ता राईका अनुसार परराष्ट्र सचिवस्तरीय बैठकमा अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुँदा हाल पाइरहेको सुविधा गुम्न नदिन दुई देशले संयुक्त रूपमा पहल गर्ने समझदारीसमेत बनेको छ । नेपालको विद्युत् बंगलादेश निर्यात गर्नेबारे समेत छलफल भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।