दक्षिण अफ्रिकामा आमचुनाव : ५०% भन्दा बढी मतगणना हुँदा सत्तारुढ दल एएनसीलाई ४२% मात्रै मत, बहुमत गुमाउन सक्ने !

Share News

काठमाडौं । दक्षिण अफ्रिकामा गत बुधवार भएको निर्वाचनको मतगणना जारी छ । ५० प्रतिशतभन्दा बढी मतगणना हुँदा सत्तारुढ अफ्रिकी नेसनल कांग्रेस पार्टी (एएनसी)ले ४२ प्रतिशतभन्दा बढी मत ल्याएर अग्रता बनाएको छ ।

हालसम्मको मतगणनामा प्रजातान्त्रिक गठबन्धन दोस्रो स्थानमा छ भने पूर्वराष्ट्रपति जुमाको उमखोन्टो वीसिज्वे (एमके) पार्टी तेस्रो स्थानमा छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार एएनसीले करीब ४१.९२ प्रतिशत मत प्राप्त गरेको छ । विपक्षी लोकतान्त्रिक गठबन्धनले २३.३४ प्रतिशत मत ल्याएको छ भने एमकेले ११.३१ प्रतिशत र इकोनोमिक फ्रिडम फाइटर्स (इएफएफ) पार्टी करिब ९.५३ प्रतिशत मत पाएको छ । 

चुनावअघि गरिएका केही सर्वेक्षणले राष्ट्रपति सिरिल रामाफोसाको नेतृत्वमा रहेको एएनसीले ३० वर्षपछि पहिलो पटक बहुमत गुमाउन सक्ने प्रक्षेपण गरेका थिए । अहिलेकै जस्तै परिणाम आएमा भने सत्तारुढ दलले बहुमत गुमाउने देखिन्छ । 

मतगणनाको अन्तिम परिणाम भने आइतवार मात्रै आउने निर्वाचन आयोगले जनाएको छ । देशका २३ हजार मतदान केन्द्रमा मतगणनाको चलिरहेको छ ।  

राष्ट्रपति रामाफोसा भने आफ्नो पार्टी सत्तामा फर्किनेमा विश्वस्त छन्।

चुनावमा स्वतन्त्र उम्मेदवारसहित ५२ राजनीतिक दल सहभागी थिए । उक्त चुनावबाट राष्ट्रिय तथा प्रादेशिक प्रतिनिधि छानिनेछन् । एजेन्सी
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।