त्रिभुवन विमानस्थलमा रात्रिकालीन उडान बन्द गरिँदै, झण्डै २ दर्जन उडान प्रभावित हुने

Share News

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) विस्तार विकास गर्न कात्तिक २३ गतेदेखि रात्रिकालीन उडान बन्द गर्ने निर्णय गरेपछि रातिको उडान अनुमति लिएका करीब २ दर्जन उडान प्रभावित हुने भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले कात्तिक २३ देखि राति १० बजेदेखि बिहान ६ बजेसम्मका उडान रोकेर विमानस्थलका विभिन्न पूर्वाधार विस्तार गर्दै छ । जसले गर्दा राति आवागमन र प्रस्थानका उडानहरू बन्द हुने भएका हुन् ।

सोमवारको उडान तालिकाअनुसार टीआईएमा राति १० बजेपछिको उडान र अवतरण संख्या २१ छ । टीआईएमा राति १० बजेपछि ७ ओटा एयरलाइन्सको जहाज अवतरण गर्छन् भने १४ ओटा उड्छन् । यो संख्या तलमाथि हुन सक्ने कार्यालयले जानकारी दिएको छ । 

विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले समानान्तर ट्याक्सी वे, ह्यांगर, एप्रोन जस्ता विकास, विस्तारका काम भइरहेकाले रात्रिकालीन उडान बन्द गर्नुपर्ने बताए । कात्तिक २३ गतेदेखि बन्द हुने र यो अवधि ५ महीनासम्मको हुने उनले जानकारी दिए । ‘अहिलेको योजनाअनुसार रात्रिकालीन उडानहरू दिनको समयमा गर्न सकिने गरी तालिका मिलाउन सकिन्छ,’ निरौलाले भने, ‘नभए भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जान सकिने विकल्प पनि छ ।’

२०७९ जेठ २ गते उद्घाटन भएको गौतमबुद्ध विमानस्थलमा अहिले व्यावसायिक अन्तरराष्ट्रिय उडान/अवतरण छैन । उक्त विमानस्थलमा रात्रिकालीन उडान गर्दै आएका एयरलाइन्सलाई विकल्प दिन सकिने अवस्था भने छ ।

टीआईएमा अहिले एसियाली विकास बैंक (एडीबी) र नेपाल नागरिक उड्डयन प्राधिकरणको लगानीमा पूर्वाधार विस्तारको काम भइरहेको छ । यसमध्ये एडीबीको साढे ३ अर्ब रूपैयाँ लगानीमा समानान्तर ट्याक्सी वे र त्यत्ति लगानीमा ह्यांगर क्षेत्रको विकास हुँदै छ । एप्रोन बनाउन ७ अर्बको परियोजना बनिसकेको छ । यी पूर्वाधारका काम एकैपटक सम्पन्न गराउने उद्देश्यले रात्रिकालीन उडान बन्द गर्न लागेको विमानस्थल कार्यालयका प्रवक्ता सुभाष झाले जानकारी दिए । 

उनका अनुसार रात्रिकालीन उडान गर्दै आएका वायुसेवा कम्पनीलाई विमानस्थल बन्दका सम्बन्धमा जानकारी गराइसकिएको छ । कम्पनीहरूको प्रस्तावअनुसार उडान तालिका अन्य समयमा मिलाउन प्रयास गरिने उनको भनाइ छ । ‘उडान तालिका मिलाउन सम्बन्धित वायुसेवा कम्पनीलाई प्रस्ताव दिन भनिएको छ,’ झाले भने, ‘त्यसअनुसार रात्रिकालीन उडानको व्यवस्थापन गरिनेछ ।’

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट धेरैजसो अन्तरराष्ट्रिय उडान/अवतरण रातिकै समयमा हुन्छन् । सोमवारको स्वीकृत तालिकाअनुसार १४ अन्तरराष्ट्रिय उडान राति १० बजेदेखि साढे २ बजेको बीचमा हुन्छन् । टीआईए हाल बिहान ६ बजेदेखि राति ३ बजेसम्म खुला हुन्छ ।

टीआईएबाट रातिको समयमा हिमालय एयरलाइन्सले ३ तथा नेपाल एयरलाइन्स र कतार एयरवेजले २/२ उडान गर्छन् । एयर अरेबिया, सिंगापुर एयरलाइन्स, मलेसिया एयरलाइन्स, चाइन साउदर्न, फ्लाई दुबई, थाई एयरवेज र जजिरा एयरले १/१ उडान गर्छन् । सोही समयमा कतार एयरवेजका २ तथा मलेसिया, चाइना साउदर्न, थाई एयरवेज, फ्लाई दुबई र जजिराका १/१ जहाज अवतरण गर्छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।