फ्रान्समा संसदीय निर्वाचनको पहिलो चरणका लागि आज मतदान

Share News

काठमाडौं । फ्रान्समा संसदीय निर्वाचनको पहिलो चरणका लागि आज मतदान भईरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेबाट मतदान शुरु भएको हो । यो निर्वाचन बहुमतको आशामा रहेका राष्ट्रपति इमानुएल म्याक्रोनका लागि महत्वपूर्ण रुपमा हेरिएको छ । चुनावी सर्वेक्षणले संसदमा दक्षिणपन्थी धारको पार्टी नेसनल र्यालीले बहुमत ल्याउने देखाएको छ ।

मतदान दुई चरणमा हुन लागेको छ । जसमा पहिलो चरण आज र दोस्रो चरणको मतदान जुलाइ ७ मा हुनेछ । फ्रान्समा करिब ४.९ करोड मानिसले आफ्नो मताधिकार प्रयोग गर्न योग्य छन् । फ्रान्सेली संसदको कार्यकाल २०२७ मा समाप्त हुने थियो, तर युरोपेली संघका लागि भएकाे निर्वाचनमा ठूलो पराजयका कारण राष्ट्रपति म्याक्रोनले समयअघि नै संसद विघटन गरेका थिए ।

जुन महिनाको शूरुमा युरोपेली संसदको निर्वाचन भएको थियो। यस अवधिमा फ्रान्सेली चरम दक्षिणपन्थी नेता मारिन ले पेनको नेसनल र्यालीले म्याक्रोनको पार्टीलाई ठूलो धक्का दिएको थियो । त्यसलगत्तै राष्ट्रपतिले अन्तिम नतिजा आउनुअघि नै अचानक राष्ट्रिय चुनावको घोषणा गरेका थिए । उनले भनेका थिए, ‘मैले निर्णय गरेको छु, तपाईले आफ्नो संसदीय भविष्य भोटिङबाट रोज्नुपर्छ । त्यसैले राष्ट्रिय सभा विघटन गर्दैछु । अति दक्षिणपन्थी दलहरू जताततै अगाडि बढिरहेका छन् । यी यस्ता परिस्थितिहरू हुन् जुन म स्वीकार गर्न सक्दिन।‘

यो चुनावको नतिजा फ्रान्सका लागि मात्र नभई बृहत् युरोपेली परिप्रेक्ष्यका लागि पनि महत्त्वपूर्ण छ।

फ्रान्समा किन चुनाव हुँदैछ ? 
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपेली संसदको चुनावमा आफ्नो मध्यमार्गी  रिनेइसान्स् पार्टीकाे पराजय पछि तुरुन्तै  आम चुनाव गर्ने निर्णय गरेका थिए । फ्रान्सको राजनीतिक परिदृश्यमा आफ्नो नियन्त्रण कायम गर्ने चाहनाका कारण म्याक्रोनले चुनाव गराउन लागेको बताइन्छ । 

फ्रान्समा चुनावी प्रक्रिया के हो? 
फ्रान्सेली संसदीय चुनाव दुई-चरणमा सञ्चालन गरिन्छ । जहाँ उम्मेद्वारहरूले राष्ट्रिय सभामा ५७७ सीटहरूको लागि प्रतिस्पर्धा गर्छन्। निर्वाचनका लागि कम्तीमा २५ प्रतिशत दर्ता मतदाताले मत दिएको हुनुपर्छ । पहिलो चरणमा विजयी हुनका लागि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने छ । त्यसो गर्न असफल भएमा, शीर्ष  उम्मेद्वारहरू दोस्रो चरणमा पुग्छन् । दोस्रो चरणमा पुग्न उमेद्वारले कम्तिमा १२.५ प्रतिशत दर्ता मतदाताहरूको मत प्राप्त गर्नुपर्नेछ ।  यसले गर्दा दाेस्राे चरणमा दुइ भन्दा बढी उम्मेदवार पुग्न सक्न्छन् । 
फ्रान्सेली चुनावमा को को भिडदैछन्? 
म्याक्रोनको मध्यमार्गी रिनेइसान्स् पार्टी हालको सभामा १७० भन्दा बढी सांसदहरू भएको सबैभन्दा ठूलो पार्टी हो तर याे स‌ंख्या बहुमतभन्दा कम हाे। यसको विपरित, मरीन ले पेन र उनका समर्थक जोर्डन बर्डेलाको नेतृत्वमा रहेको आरएन प्रमुख विपक्षी शक्तिको रूपमा उभिएको छ। निर्वाचनको नतिजा आइतबार रातिसम्म आउने अपेक्षा गरिएको छ । एजेन्सीहरूको सहयोगमा 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।