एसईईपछिको यात्रा विशेष: कसरी छान्ने कलेज ?

Share News

काठमाडौं । हालै राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतीजा सार्वजनिक गर्यो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउँदै छन् । परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य छन् । यी विद्यार्थीमा अब कस्ता कलेज छान्ने, के पढ्ने भन्नेमा निकै द्विविधा पैदा भएको पाइन्छ ।

शिक्षाविद् डा. विष्णु कार्कीका अनुसार प्रत्येक विद्यार्थीको भविष्य निक्र्योल गर्ने आधार एसईईपछिको यो तह हुन्छ । ‘अबको तहले नै रोजगारी र व्यवसायका लागि दक्ष बनाउने भएकाले यो तहमा विशेष होशियारी अपनाउनुपर्ने हुन्छ । विद्यालय छान्दा विशेष ध्यान दिइएन भने समय र भविष्य बर्बाद हुने सम्भावना रहन्छ । त्यसैले, होहल्ला र लहलहैमा नभई विद्यालयको विशेषता तथा सुविधाबारे राम्ररी बुझेर मात्र छनोटको निर्णय लिनुपर्छ,’ उनले भने ।

हरेक वर्ष बजारमा आउने सीमित विद्यार्थीबाट कसरी आफ्नोमा ‘सीट फुल’ बनाउने भन्ने प्रतिस्पर्धा निजी विद्यालयहरूबीच चलिरहेको हुन्छ । विद्यार्थीलाई आकर्षित गर्न कुनैले टीचर/फ्याकल्टिज राम्रा छन् भन्छन् त कुनैले उत्तीर्ण प्रतिशत राम्रो छ भन्छन् । त्यसैगरी कसैले छात्रवृत्ति त कसैले जब प्लेसमेण्टको अवसर रहेको देखाउँछन् । त्यसैले, उमेरको सबैभन्दा स्वर्ण समय खर्चिइने यस विषयको पढाइका लागि शैक्षिक संस्था छान्दा निकै सचेत हुनुपर्ने शिक्षाविद्हरूको सुझाव छ । 

विद्यालय/कलेजको संख्या बढेअनुसारको पढाउने विशेषज्ञ शिक्षक पाउन कठिन छ । कक्षा लिने र हिँड्ने शिक्षक भरमा धेरै विद्यालय/कलेज चल्ने हुँदा विद्यार्थीले शिक्षकसँग चाहेको बेला समय लिएर सोध्न पाउने अवस्था छैन । त्यसकारण विद्यार्थीले विद्यालयको बाहिरी आकर्षणभन्दा पनि कस्ता कस्ता शिक्षक छन् र कस्ता विद्यार्थी उत्पादन गरिरहेका छन् त्यो हेर्नुपर्ने शिक्षाविद् कार्कीको सुझाव छ ।

अर्का शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला एसईईपछि विद्यालय शिक्षा भए पनि व्यापार गर्ने थलो बनाइएको बताउँछन् । उनका अनुसार सरकारले नियन्त्रण गर्न नसक्दा मनपरी बढेको हो । पढ्नका लागि विद्यार्थीहरूले गम्भीर भएर सोच्नुपर्ने उनी बताउँछन् । ‘आफ्नो क्षमता के हो, आर्थिक हैसियत के छ ? त्यहीअनुसार विद्यार्थी अघि बढ्नुपर्छ,’ उनले भने ।

  •  होहल्ला र लहलहैमा नभई विद्यालयको विशेषता तथा सुविधाबारे राम्ररी बुझेर मात्र छनोटको निर्णय लिने
  •  विद्यालयको बाहिरी आकर्षणभन्दा पनि कस्तो प्रडक्ट दिइरहेको छ हेर्ने

उनका अनुसार चार–पाँचओटा विद्यालय/कलेजको विगतको नतीजा, शिक्षण तालिका समेत हेर्न जरुरी छ । पहिले पढेकाहरूले त्यो विद्यालयमा कस्तो पढिरहेका छन् भन्नेबारे विद्यार्थीले बुझ्नुपर्ने उनी सुझाउँछन् । ‘अरूको लहैलहैमा लागेर भन्दा पनि अभिभावकको साथमा गएर बुझ्ने, आफ्नो अभिभावकले पढाइका लागि आर्थिक जोहो गर्न सक्ने/नसक्ने कुराको निक्र्योल गर्नुपर्छ,’ उनले भने ।

आफूले पढ्न लागेको विषयको अध्ययनपछि रोजगारीको सम्भावना, भ्रमण गर्दा कलेजको भौतिक संरचना, शैक्षिक वातावरण, शिक्षकको योग्यता र पुस्तकालयको व्यवस्थाबारे राम्ररी बुझ्नुपर्ने शिक्षाविद्हरूको भनाइ छ । ‘कतिपयले अहिले पनि दक्षता हासिल नगरेका शिक्षकको व्यवस्था गरिरहेको पाइन्छ,’ कोइरालाले भने, ‘विद्यालय छानिसकेपछि त्यहीँबाट अघिल्ला वर्षहरूमा पढाइ सकेर गएका दाजुभाइको अनुभव सुन्ने प्रयास पनि गर्नुपर्छ ।’

यस क्रममा पढाउने शिक्षकको योग्यता, अघिल्ला वर्षका नतीजा आदिबारे जानकारी राख्नु राम्रो हुन्छ । विद्यालय/कलेज छान्दा सर्वप्रथम त्यो कत्तिको पारदर्शी छ भन्ने पनि बुझ्नुपर्छ । पारदर्शिताका लागि उसको वेबसाइटमा सबै विवरण राखेको छ/छैन हेर्नुपर्छ । त्यसैले, पारदर्शितालाई छनोटको पहिलो कसी मान्नुपर्छ । 

यसबाहेक शैक्षिक संस्थाको आन्तरिक व्यवस्थापनदेखि बजारमा सम्बन्धित शैक्षिक संस्थाका विद्यार्थीको माग जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।

कलेजहरूले पनि आफ्नो कलेजको विशेषता जनाउँदै विज्ञापन गरिरहेका हुन्छन् । यस वर्ष गतवर्षको तुलनामा कक्षा ११ भर्ना हुन पाउने विद्यार्थीको संख्या घटेकाले पनि कलेजबीच सीमित विद्यार्थी आकर्षित गर्न प्रतिस्पर्धा छ । 

यस वर्ष २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य छन् । ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएकाले कक्षा ११ पढ्न पाउने विद्यार्थीको संख्या घटेका हुन् । गत वर्षसम्म जिपिएका आधारमा १ दशमलव ६० भन्दा कम पाउनेले कक्षा ११ पढ्न नपाउने व्यवस्था थियो । त्यति पनि नल्याउने विद्यार्थी कम थिए, जसका कारण कलेज पढ्ने विद्यार्थी बढी हुन्थे । यस वर्ष सीमित विद्यार्थी आकर्षित गर्न कलेजहरूलाई चुनौती रहेको देखिन्छ ।

कलेजहरूमा विद्यार्थी आकर्षित गर्ने होड चलिरहँदा बबरमहलस्थित नेपाल मेगा कलेजले असार २८ गते प्रवेश परीक्षा लिने भएको छ । विज्ञान, व्यवस्थापन र कानून विषयमा ११–१२ कक्षामा पढाइ हुने कलेजले जनाएको छ । कमलपोखरीस्थित ईस्लिङटन कलेजले व्यापक छूट शुल्कमा भर्ना कार्यक्रम ल्याएको छ । ए लेभलको पढाइ गर्ने यो कलेजले शुल्कमा छूट दिई अन्तरराष्ट्रिय स्तरको शिक्षा दिन लागेको जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।