४५० गुणा बढी आवेदन परिसकेको सूर्योदय वोमी लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

Share News

काठमाडौं । गत शुक्रवारबाट विक्रीमा आएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंगलबार बिहान १० बजेसम्म कम्पनीको एफपीओ निष्कासनका लागि मागभन्दा ४५० गुणा बढी आवेदन परिसकेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवार बिहान १० बजेसम्म १४ लाख ४३ हजार ४४७ जनाबाट २ करोड १० लाख २८ हजार ७४० कित्ता एफपीओ खरीद माग भएको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेको यस कम्पनीको एफपीओ छिटो अवधि साउन ८ गतेसम्म मात्र विक्रीमा रहने छ। यस अवधिसम्म आवेदन प्राप्त नभएको अवस्थामा साउन १८ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको थियो ।

धितोपत्र दोस्रो बजारमा १ हजार रुपैयाँभन्दा बढी मूल्य कायम रहेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमै एफपीओ निष्कासन गरेको हो । अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ९१ करोड ५४ लाख ५५ हजार रुपैयाँभन्दा बढी छ । हाल ९१ करोड ७ लाख ८२ हजार रुपैयाँभन्दा बढी चुक्ता पूँजी कायम रहेको कम्पनीले एफपीओ निष्कासन तथा बाँडफाँटपछि ९१ करोड ५४ लाख ५५ हजार रुपैयाँभन्दा बढी चुक्ता पूँजी कायम गर्नेछ ।

एफपीओपछि कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम हुनेछ । हाल कम्पनीमा संस्थापतर्फ ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणतर्फ २९ दशमलव ६४ प्रतिशत शेयर स्वामित्व छ ।

एफपीओ विक्रीबाट संकलित पूँजी कम्पनीले व्यावसायिक प्रयोजनका लागि उपयोग गर्नेछ । कम्पनीले २६ लाख ७२ हजार रुपैयाँभन्दा बढी रकम विपन्न वर्गमा कर्जा लगानी र २० लाख रुपैयाँभन्दा बढी रकम तरलता व्यवस्थापनमा उपयोग गर्ने बताएको छ ।

लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै कम्पनीको एफपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट एफपीओ खरीदका लागि आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीले एफपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।