काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइतवार प्रि अलोटमेन्ट सम्पन्न गरी बुधवार अन्तिम बाँडफाँटको तयारी गरेको हो ।
सूर्योदय वोमी लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ कित्ता एफपीओ साउन ४ गतेदेखि ८ गतेसम्म विक्री गरेको हो । कम्पनीको एफपीओ खरीदका लागि १६ लाख ५९ हजारभन्दा बढीको आवेदन परेको छ । यी आवेदकहरूबाट २ करोड ३८ लाख ६३ हजारभन्दा बढी कित्ता एफपीओ खरीद माग भएको जानकारीसमेत सिडिएससीले दिएको छ ।
भाग्यमानी ४ हजार ६७२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ९ कित्ता शेयर भने ९ जना आवेदकले थप १-१ कित्ताका दरले प्राप्त गर्नेछन् । यसरी हेर्दा कम्पनीको आईपीओ भाग्यमानी आवेदकमा बढीमा ११ कित्तासम्म बाँडफाँट हुनेछ ।
धितोपत्र दोस्रो बजारमा आइतवार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार १४९ रुपैयाँ कायम छ । एफपीओ दोस्रो बजारमा सूचीकृतपश्चात् दोस्रो बजारमा कारोबार भइरहेकै मूल्यमा कारोबारमा आउनेछ । अहिलेकै मूल्यलाई लिएर आकलन गर्ने हो भने कम्पनीको एफपीओ प्राप्त गर्ने लगानीकर्ता पहिलो दिनमै ११ हजार रुपैयाँभन्दा बढी नाफामा हुनेछन् ।
कम्पनीको एफपीओ प्राप्त गर्ने लगानीकर्ता पहिलो दिनमै नाफामा हुने मात्र हैन, अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट वितरणका लागि प्रस्ताव गरिएको बोनस शेयरसमेत प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीले १४ दशमलव ०७७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारितका लागि साउन ३२ गते वार्षिक साधारण सभा बोलाएको छ । एफपीओपछि कायम चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार रुपैयाँको आधारमा १२ करोड ८२ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर कम्पनीले वितरण गर्न लागेको हो ।
यो बोनस शेयर साउन २३ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् । कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन २४ गते एक दिन बुक क्लोज गर्न लागेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।