हमास प्रमुख हनियाको हत्या : के होला बन्धक छाड्ने सम्झौता ?

Share News

तेहरान (इरान) । हमासका प्रमुख इस्माइल हनियाको बुधवार बिहान इरानको राजधानी तेहरानमा हत्या भएको छ । उत्तरी तेहरानस्थित एक विशेष निवासमा बसिरहेका बेला हनियाको हत्या भएको हो । हमास प्रमुखलाई क्षेप्यास्त्र प्रहार गरी मारिएको दाबी गरिएको छ । 

इरानको सेना इरान रिभोल्युसनरी गार्ड्सले पनि उनको मृत्युको पुष्टि गरेको छ । हमासले भने इजरायलले हनियाको हत्या गरेको आरोप लगाएको छ । 

हनिया गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको मुख्य योजनाकार रहेको बताइन्छ । यही कारण उनी इजरायली सेनाको निशानामा थिए । इजरायलले त्यसैको बदला लिएको बताइएको छ । 

के होला बन्धक छाड्ने सम्झौता ?

हनियाको हत्यासँगै गत वर्षको अक्टोबर ७ मा शुरु भएको इजरायल–गाजा युद्धका बन्धक छाड्ने सम्झौता के होला भन्नेबारे आम चासो छ । 

युद्ध अवधिमा हमासले धेरैलाई बन्धक बनाएको थियो । हमासले बन्धक बनाएकाको सूचीमा एक नेपाली युवक पनि छन्, ती अझै रिहा भएका छैनन् । युद्धपछि तिनै बन्धक छुटाउन सम्झौता गरिएको थियो, जसमा हनियाले मुख्य भूमिका निभाएका थिए । 

उनीपछिको नेतृत्वले यो सम्झौता कायमै राख्ला कि भंग गर्ला ? यसबारे हमासले अहिलेसम्म केही बोलेको छैन । 

आफ्ना प्रमुखको हत्यापछि हमास भड्किएर उक्त सम्झौता भंग गर्ला भन्ने पीर पनि विश्वसमुदायमा छ । 

फेरि होला युद्ध ?

एकथरिले हनियाको हत्यापछि युद्ध भड्किनसक्ने आशंका गरेका छन् । त्यसो त हमासले हनियाको हत्यामा इजरायलमाथि आरोप लगाइसकेको छ । तर, युद्धबारे हमासले केही बोलेको छैन । एजेन्सीको सहयोगमा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।