काठमाडौं । मंगलवार रातभरिको भारी वर्षाले बागमती नदीमा आएको बाढीबाट काठमाडौंको बल्खुस्थित तरकारी बजार डुब्दा व्यापक आर्थिक क्षति भएको छ । ४५० ओटा स्टल रहेको बजार पूर्ण रूपमा डुबानमा परेको सञ्चालक र सम्बद्ध व्यवसायीको भनाइ छ । यसलाई काठमाडौं उपत्यकाका ठूलामध्येको एक तरकारी बजार मानिन्छ ।
‘५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ,’ तरकारी बजार सञ्चालक मोहनकुमार बस्नेतले आर्थिक अभियानसँग भने । काठमाडौं उपत्यकाको करीब ३० प्रतिशत तरकारी माग धान्ने अनुमान गरिएको बल्खु बजारमा मंगलवार राति उर्लिएको बागमतीको बाढी पसेको थियो ।
- तरकारी र खाद्यान्नका ४५० स्टल पूर्णरूपमा डुबे
- ५ करोड रुपैयाँभन्दा बढीको सरसामान नष्ट
- एक व्यापारीको २५ हजारदेखि डेढ लाखसम्मको क्षति
बस्नेतका अनुसार राति करीब १ बजेर ४५ मिनेटदेखि बजार क्षेत्रमा बागमतीको बाढी पस्न थालेको थियो । ‘पस्न शुरू भएको करीब आधा घण्टाभित्रै बाढीले बजार क्षेत्रभित्रको खाद्यान्न र तरकारी बगाउँदा व्यापक क्षति भएको छ,’ उनले भने । भोलिपल्ट विक्री गर्नुपर्ने तरकारी अघिल्लै दिन राति ९ बजेतिर व्यापारीले स्टक गरेर जान्छन् । सोही तरकारी बाढीले बगाएको हो ।
‘एकजना व्यापारीको २५ हजारदेखि डेढ लाख रुपैयाँसम्मको तरकारी नष्ट भएको छ,’ बस्नेतले भने । बाढीका कारण आलु, प्याज, काँक्रो, परवर, भिन्डी, गोलभेडालगायत तरकारी र दाल, चाम, गेडागुडी, खानेतेल, फर्निचर, जनेरेटर र केही तरकारी बोक्ने गाडीमा समेत क्षति पुगेको हो ।
तरकारी बोक्ने दुईओटा ठूला ट्रक र साना तीनओटा गाडी बाढीमा डुब्दा इन्जिनमा क्षति पुगेका बस्नेतले बताए । ‘दुईओटा जेनेरेटर, एउटा कार, सातओटा मोटरसाइकल र दुईओटा फ्रिजसमेत बाढीले डुबाउँदा त्यसमा क्षति पुगेको छ,’ उनले भने ।
बल्खु तरकारी बजारमा काठमाडौं उपत्यका आसपासका जिल्लासहित तराईका जिल्लाबाट तरकारी आउँछ । यहाँबाट टुकुचा तरकारी बजार, धुम्बाराही, कीर्तिपुरलगायत उपत्यकाका करीब एक दर्जन साना तरकारी बजारमा तरकारी आपूर्ति हुने गरेको छ ।
बल्खु तरकारी बजारमा करीब ८ वर्षदेखि तरकारी बेच्दै आएका रामकुमार शिवाकोटीले खोलाको छेउमा हुँदा बाढीको उच्च जोखिममा रहेको सुनाए ।
बागमतीमा आएको बाढीका कारण हरेक वर्षजसो डुबानमा पर्ने गरे पनि यसपटकको जस्तो ठूलो बाढी अहिलेसम्म आफूले नभोगेको उनको अनुभव छ । अहिलेसम्मकै ठूलो बाढी भएकाले धेरै आर्थिक क्षति भएको उनले बताए ।
उनका अनुसार तरकारी बजारमा जमीनबाट करीब ६ फिटमाथिसम्म पानीले डुबाएको थियो । यसो हुँदा त्यहाँका रहेको ६० देखि ७० प्रतिशत तरकारी बाढीले बगाएको र बाँकी लेदोले पुरिएर काम नलाग्ने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।
बुधवार दिउँसो कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बल्खु तरकारी बजारमा भएको क्षतिको अवलोकन गरेका छन् । उनले क्षतिको तथ्यांकसहित सम्पूर्ण विवरण आफूलाई पेश गर्न तरकारी बजार सञ्चालकलाई आग्रह गरेका छन् । ‘मन्त्रीले क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारको राहत कोष र अर्थ मन्त्रालयमा पहल गर्ने आश्वासन दिनुभएको छ,’ सञ्चालक
बस्नेतले भने ।
कुलेश्वर फलफूल बजारमा ६५ लाखको क्षति
बाढीकै कारण कुलेश्वरस्थित फलफूल बजारमा करीब ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पकाउन राखिएका फलफूल सबै बाढीले बगाएको नेपाल फलफूल थोक व्यवसायी संघका कोषाध्यक्ष पुरुषोत्तम घिमिरेले आर्थिक अभियानलाई बताए ।
घिमिरेका अनुसार सबैभन्दा बढी पकाउन राखिएका केरालगायत फलफूल बाढीले बगाएको छ । पकाउनका लागि भुइँमा राखिएका करीब १० गाडी केरा बाढीले बगाएको हो ।
संघका अनुसार कुलेश्वरको फलफूल बजारमा २५० व्यवसायी छन् । बाढीले बजारमा क्षति पुग्दा बुधवार बजारको ९० प्रतिशत कारोबार घटेको छ । बाढीले बजार डुबाएका कारण अझै केही दिन कारोबार प्रभावित हुन सक्ने घिमिरेले बताए ।
यसैबीच रासस प्रेषित समाचारमा मंगलवार रातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौं उपत्यकाका ३ जिल्लाबाट उद्धार गरिएको उल्लेख छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार उपत्यकामा १ जनाको खोलाले बगाएर मृत्यु भएको छ । काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बुधवार बिहान शव फेला परेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंमा १० पुरुष, ६ महिला र २ बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष ८ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको छ ।
यस्तै भक्तपुरमा १३ पुरुष, ११ महिला र ४ बालबालिका गरी २८ जनाको उद्धार भएको मैनालीले जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।