वीरगञ्ज महानगर: प्रदूषण नियन्त्रणमा उद्योगी सहमत

Share News

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोर भएर बग्ने सिर्सिया नदीमा प्रदूषित पानी बगाउने वीरगञ्जका उद्योगको प्रवेशद्वारमा वीरगञ्ज महानगरले फोहोर थुपारिदिएपछि ती उद्योग फोहोर पानी प्रशोधन गरेर मात्र नदीमा खसाल्न सहमत भएका छन् । वीरगञ्ज महानगरले नगरक्षेत्रबाट संकलन गरेको फोहोर दैनिक रूपमा उद्योगको गेटमा लगेर थुपारिदिन थालेपछि विगत डेढ वर्षदेखि जरीवाना तिर्न अटेर गर्दै आएको एउटा उद्योगले बुधवार जरीवाना रकमसमेत बुझाएको छ । अरनिको प्रोसेसिङले ३ लाख रुपैयाँ जरीवाना तिरेको वीरगञ्ज महानगरले बताएको छ ।

वीरगञ्ज महानगरले लगातार ३ दिनसम्म उद्योगको गेटमा फोहोर फालिदिएपछि उद्योगीहरू महानगरमा आएर आआफ्नो उद्योगबाट निस्किएको रसायनयुक्त फोहोर पानी प्रशोधन गरेर मात्र नदीमा मिसाउन सहमत भएको वीरगञ्ज महानगर, वातावरण शाखाका प्रमुख प्रकाश ऐरले जानकारी दिए । ‘डेढ वर्षदेखि महानगरले अनुगमन गरी प्रदूषित पानी नफाल्न सचेत गराउँदै आएको थियो । जरीवाना गरेकोमा त्यो रकम पनि तिर्न अटेर गर्दै आएका थिए । उद्योगको गेटमा फोहोर फालिदिएपछि सुधार्न सहमत भएका छन्,’ ऐरले भने ।

महानगरका सरसफाइ कर्मचारी र नगर प्रहरीले कोरिडोरको अरनिको प्रोसेसिङ, श्री सिद्धि टेक्सटाइल र मरिअम लेदरको गेटमा लगेर फोहोर फालिदिएका थिए । तीमध्ये अरनिकोले पहिलो दिनको फोहोर आफैले हटाएको थियो । फोहोर हटाएको थाहा पाएपछि महानगरले भोलिपल्टै अरनिको र सिद्धिको प्रवेशद्वारमा थप १०/१० ट्र्याक्टर फोहोर खसालिदिएको थियो ।

यो पनि पढ्नुहोस्सिर्सिया नदीमा प्रदूषित पानी बगाउने वीरगञ्जका उद्योगको प्रवेशद्वारमा महानगरले फोहोर थुपारेपछि...

महानगर आक्रामक भएपछि उद्योग सञ्चालक प्रदूषण नियन्त्रणका लागि सहमत भएका हुन् । मंगलवार अरनिकोका सञ्चालक गौरव गाडिया, सिद्धि टेक्सटाइलका अशोक मित्तल र मरिअमका फारुक जमाल कुरैसीले महानगरमा आएर उद्योगबाट निस्किएको रसायनयुक्त पानी प्रशोधन गरेर मात्रै नदीमा फाल्ने शर्त स्वीकार गरेका हुन् । महानगरका कर्मचारी र उद्योगीको छलफलपछि ती उद्योगीले १५ दिनसम्म उद्योग परिसरमा खाल्डो खनेर पानी जम्मा गर्ने र त्यो समयसीमाभित्र प्रशोधनको प्रविधिको व्यवस्था गर्ने माइनुटमा हस्ताक्षर गरेका छन् । 

महानगरले अहिलेको कारबाहीलाई ‘प्रतीकात्मक’ भन्दै उद्योगले अटेर गरेमा ती उद्योगीको घरको प्रवेशद्वारमा फोहोर थुपारिदिने चेतावनी दिएको छ । महानगरले विगत डेढ वर्षदेखि कोरिडोरका उद्योगलाई सिर्सियामा प्रदूषित पानी नमिसाउन आग्रह गर्दै आएको थियो ।

पटकपटक अनुगमनका क्रममा दिएको चेतावनी अटेर गरेपछि जरीवाना गरिएको र अहिले उद्योगमै फोहोर फालेर प्रदूषण नियन्त्रणका लागि सहमत बनाउनुपरेको महानगर वातावरण शाखा प्रमुख ऐरको भनाइ छ । त्यतिबेला वीरगञ्ज उद्योग वाणिय संघको रोहवरमा भएको अनुगमनको निर्देशन र समझदारीसमेत उद्योगले अटेर गरेको महानगरले बताएको छ । महानगरको चेतावनीपछि केही उद्योगले सुधार गरेका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम यो समस्याको विधिसम्मत् र दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिन्छन् । ‘कोरिडोरमा सामूहिक वाटर ट्रिटमेन्ट प्लान्ट बनाउन अत्यावश्यक भइसकेको छ । यसका लागि हामीले सरकारको ध्यानाकर्षण गराएका छौं । सरकार यसबारे सकारात्मक पनि देखिएको छ,’ गौतमले भने । बारा–पर्साका उद्योगले नदी दूषित बनाएको भन्दै विगतमा कोरिडोरमा पर्ने वीरगञ्ज महानगर, जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र सरोकारका पक्षले नियन्त्रणका लागि सहकार्य गर्ने प्रतिबद्धता गरेका थिए । प्रतिबद्धताअनुसार काम नभएपछि ‘प्रतीकात्मक’ कारबाहीमा लाग्नुपरेको महानगरले बताएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।