यो साता करीब ३ खर्बले बढ्यो कुल बजार पूँजीकरण, ९६ अर्बभन्दा बढीको कारोबार

Share News

काठमाडौं । २ हजार ३० विन्दुदेखि उकालो लागेको नेपालको धितोपत्र दोस्रो बजार २ हजार ७५५ दशमलव ६२ विन्दुमा बन्द भएको छ । पछिल्लो कारोबार दिन गत बिहीवार २ हजार ८०५ दशमलव ५७ विन्दुसम्म पुगेको बजार पछि २ हजार ८०० विन्दुमुनि नै बन्द भएको हो । यो साता पाँच कारोबार दिनमा बजार दुई कारोबार दिन घटेको छ भने तीन कारोबार दिन बढेको छ । धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचकसँगै पछिल्लो समय कारोबार रकमसमेत बढेको छ । 

चालू आर्थिक वर्षको मौद्रिक नीतिपछिको पहिलो कारोबार साता बजारमा उत्साह नै देखिन्छ । साताको पहिलो कारोबार दिन दुई पटकको सर्किट ब्रेकपछि सम्हालिएको बजार ११३ दशमलव ४२ अंक बढेको थियो । दोस्रो दिन नाफा बुक गर्दा २० दशमलव ४६ अंक करेक्सन भएको बजार तेस्रो दिन ३५ दशमलव ५५ अंक र चौथो दिन ६४ दशमलव २६ अंक बढेको थियो । अन्तिम कारोबार दिन ५ दशमलव २९ अंकको करेक्सन बजारमा देखिएको थियो ।

पहिलो कारोबार दिन १५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा दोस्रो दिन १९ अर्ब ६० करोड रुपैयाँभन्दा बढी, तेस्रो दिन १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढी, चौथो दिन २१ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी र पाँचौं दिन २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ । 

यो साता हालसम्मकै बढी रकमको कारोबार भएको देखिन्छ । यसअघि बजारले ३ हजार २०० विन्दुको ऐतिहासिक रेकर्ड कायम गरेको दिनको भन्दा यो साताका दुई कारोबार दिनमा कारोबार बढी भएको छ । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो । 

धितोपत्र दोस्रो बजार बढ्न थालेसँगै नयाँ लगानीकर्ताको प्रवेश पनि बजारमा बढिरहेको बजार सञ्चालकले जानकारी दिएका छन् । नेप्सेका सूचना अधिकारी मुराहरी पराजुली ‘बुल मार्केट’मा साथीभाईको लहलहैमा लागेर भन्दा पनि आफ्नो स्वविवेकले लगानी गर्नुपर्ने सुझाव दिन्छन् । 

नयाँ सरकार परिवर्तनबाट उत्साहित बनेका लगानीकर्ताको मनोबलले बजार बढाएको तर्क उनको छ । यो बजारमा नाफासँगै नोक्सानी पनि हुन्छ भन्ने बुझेर मात्र लगानी गर्नुपर्ने सुझाव पराजुलीको छ । 

लगानीकर्ताको उत्साह कायमै रहेको अवस्थामा यो साता नेप्से परिसूचक ७ दशमलव ३० प्रतिशत बढेको हो । बजार बढ्दा लगानीकर्ताको सम्पत्ति मूल्य पनि ७ दशमलव ३० प्रतिशतले नै बढेको छ । रकमका हिसाबले कुल बजार पूँजीकरण २ खर्ब ९७ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४० खर्ब ७४ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७२ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ कायम भएको हो । 

कारोबार रकमले ऐतिहासिक ब्रेक गर्दा पाँच कारोबार दिनमा ९६ अर्ब ३१ करोड १० लाख रुपैयाँभन्दा बढीको २३ करोड ७ लाख ६६ हजारभन्दा बढी धितोपत्र खरीदविक्री भएको छ । गत साता पाँच कारोबार दिनमा ७३ अर्ब ६१ करोड ६६ लाख रुपैयाँभन्दा बढीको १९ करोड ७० लाख ८३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम करीब ३१ प्रतिशत र कारोबार कित्ता १७ प्रतिशतले बढेको छ ।

औसतमा गत साता १४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको ३ करोड ९४ लाख १६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १९ अर्ब २६ करोड २२ लाख रुपैयाँभन्दा बढीको ४ करोड ६१ लाख ५३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । 

सातागत परिसूचकको तुलना 

विवरण यो साता गत साता फरक फरक प्रतिशत 
नेप्से परिसूचक (अंक) 2,755.62 2,568.13 187.49 7.3
सेन्सेटिभ इन्डेक्स (अंक) 492.75 460.05 32.7 7.11
कारोबार रकम (रू. हजारमा) 96,311,099.05 73,616,614.09 22,694,484.96 30.83
कारोबार कित्ता 230,766,712.00 197,083,228.00 33,683,484.00 17.09
औसत कारोबार रकम (रू. हजारमा) 19,262,219.81 14,723,322.82 4,538,896.99 30.83
औसत कारोबार कित्ता 46,153,342.40 39,416,645.60 6,736,696.80 17.09
कुल बजार पूँजीकरण (रू. दश लाखमा) 4,372,369.64 4,074,886.60 297,483.04 7.3

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

लघुवित्त र व्यापारिक समूहको परिसूचक घट्यो

यो साताको कारोबारमा लघुवित्त र व्यापारिक समूहका परिसूचक घटेका छन् । अरु समूहको परिसूचक बढ्दा यी दुई समूहको परिसूचक भने घटेका हुन् । लघुवित्त समूहको ३ दशमलव १३ प्रतिशत र व्यापारिक समूहको ३ दशमलव ४५ प्रतिशत परिसूचक घटेको छ ।

यो साता वित्त समूहको परिसूचक सर्वाधिक २० दशमलव ३२ प्रतिशत बढेको छ । त्यस्तै लगानी समूहको परिसूचक १९ दशमलव १८ प्रतिशत, अन्यको १० दशमलव ८२ प्रतिशत, होटल तथा पर्यटनको ९ दशमलव ७४ प्रतिशत, जीवन बीमा समूहको ८ दशमलव ८१ प्रतिशत, बैंकिङ समूहको ८ दशमलव ६१ प्रतिशत, विकास बैंकको ७ दशमलव शून्य ३ प्रतिशत, जलविद्युतको ५ दशमलव शून्य २ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव ९१ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव शून्य १ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ५ प्रतिशत परिसूचक बढेको छ । 

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन 

विवरण यो साता गत साता फरक प्रतिशत
वित्त 3,568.84 2,966.13 20.32
लगानी 109.87 92.19 19.18
अन्य 2,074.07 1,871.50 10.82
होटल तथा पर्यटन 7,273.67 6,628.01 9.74
जीवन बीमा 13,307.47 12,229.54 8.81
बैंकिङ्ग 1,555.94 1,432.58 8.61
विकास बैंक 5,400.61 5,045.79 7.03
जलविद्युत् 3,306.24 3,148.28 5.02
निर्जीवन बीमा 13,502.68 12,871.17 4.91
म्युचुअल फण्ड 21.87 21.23 3.01
उत्पादन तथा प्रशोधन 7,877.88 7,795.70 1.05
लघुवित्त 5,396.83 5,571.14 -3.13
व्यापारिक 3,645.84 3,776.14 -3.45

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

यो साता लघुवित्त र व्यापारिक समूहका लगानीकर्ताहरूले नाफा बुक गरेकाले परिसूचक घटेको देखिन्छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।