‘सुनचाँदीको भन्सारदर घटाउन छलफल गर्न सकिन्छ’

फाइल तस्वीर ।

Share News

काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीसँगको भेटका सोमवार उनले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न जरुरी रहेको स्वीकार्दै आवश्यक परामर्श पश्चात छिट्टै निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पौडलसँगको भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा बजेटमार्फत सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको, तर नेपालमा यस्तो दर २० प्रतिशत कायम रहेको भन्दै व्यापार असन्तुलन हुन नदिन तत्काल भन्सार दरलाई सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत कायम गर्न सुझाए ।

उनले बैंकले निश्चित समयमा मात्रै सुनको आयात गर्ने, तर विद्यमान व्यवस्था अनुसार भन्सार दर भने दिनदिनै परिवर्तन भइरहने भएकाले कारोबारमा समस्या परेको बताए । यो समस्या समाधानका लागि प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सार दर कायम गर्नुपर्ने उनले बताए ।

हाल विद्यमान सिफारिस प्रणालीलाई व्यवस्थित गर्दै दैनिक ५० किलो सुनको आयात गर्ने व्यवस्था मिलाई त्यसमध्ये ३० किलो बैंकमार्फत व्यवसायीका लागि र २० किलो उत्पादक (उद्योग)का लागि छुट्ट्याउनुपर्ने खाँचो उनले औंल्याए ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।