किन अचाक्ली बढ्यो नेपाल फाइनान्स र कुथेली बुखरी जलविद्युत्को शेयर मूल्य ?

Share News

काठमाडौं ।चौध वर्षदेखि लगानीकर्तालाई लाभांश दिन नसकेको नेपाल फाइनान्सलगायत कम्पनीको शेयर मूल्य अस्वाभाविक ढंगले बढेपछि कृत्रिम ढंगले शेयरमूल्य बढाउने खेल भइरहेको आशंका बढेको छ । नेपाल फाइनान्ससँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा भएको वृद्धिलाई सरोकारवालाले अस्वाभाविक भनेका छन् ।

अन्य वित्त कम्पनीको प्रतिकित्ता शेयरमूल्य १ हजार रुपैयाँभन्दा तल रहेको बेला नेपाल फाइनान्सको शेयरमूल्य गत हप्ताको अन्तिम कारोबार दिन बिहीवार प्रतिकित्ता २ हजार ४९ रुपैयाँ कायम भयो । 

वित्त कम्पनीमा सबैभन्दा महँगो शेयर नेपाल फाइनान्सकै छ । एक महीनाअघि उक्त कम्पनीको प्रतिकित्ता शेयर मूल्य ९७० रुपैयाँ थियो । यसबीचमा कम्पनीको शेयरमूल्य २ हजार १५४ रुपैयाँसम्म कायम भयो । नेपाल फाइनान्सको शेयरमूल्यले उक्त बिन्दु छोएको पहिलोपटक हो ।

वित्त कम्पनीतर्फ शेयरमूल्यका हिसाबले दोस्रो नम्बरमा रहेको गुडविल फाइनान्स कम्पनीको शेयरमूल्य हाल प्रतिकित्ता ८३६ रुपैयाँ छ ।

नेपाल फाइनान्स निजीक्षेत्रको पहिलो वित्त कम्पनी हो । यसले आर्थिक वर्ष २०६७/६८ सालपछि लगानीकर्तालाई लाभांश दिन सकेको छैन । उक्त वर्ष भने कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद गरी कुल २३ दशमलव १६ प्रतिशत लाभांश वितरण गरेको थियो । 

पछिल्लो समय कम्पनीको खुद नाफा पनि घटेको छ । आज २०७९/८० मा २ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको नेपाल फाइनान्सले गत आव २०८०/८१ मा १ करोड ८१ लाख रुपैयाँभन्दा केही बढी मात्र खुद नाफा आर्जन गरेको कम्पनीको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । 

  •  एक महीनामै नेपाल फाइनान्सको शेयर मूल्य प्रतिकित्ता ९७० रुपैयाँबाट २ हजार १५४ रुपैयाँसम्म पुग्यो
  •  नेपाल फाइनान्सले आर्थिक वर्ष २०६७/६८ सालयता लगानीकर्तालाई लाभांश दिएको छैन
  •  कम्पनीको वितरणयोग्य नाफा २० करोड ८२ लाख रुपैयाँभन्दा धेरैले ऋणात्मक 
  •  कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १ महीनाभन्दा बढी अवधिमा प्रतिकित्ता १ हजार २७६ रुपैयाँले वृद्धि 
  •  जलविद्युत् कम्पनीमध्येकै सर्वाधिक मूल्य कुथेली बुखारीेको

गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नेपाल फाइनानसको वितरणयोग्य नाफा २० करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । यसको अर्थ कम्पनी लाभांश दिन सक्ने अवस्थामा छैन । नेपाल फाइनान्सको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ । 

यति छोटो समयमै उच्च दरमा मूल्य बढ्ने कुनै आधार नहुँदा पनि नेपाल फाइनान्सको शेयरमूल्य किन बढ्यो भन्ने प्रश्न सांसदहरूले प्रतिनिधिसभा बैठकमा समेत गरेका थिए । 

त्यसैगरी पछिल्लो कारोबार दिन साउन २४ गते कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता २ हजार ७२६ रुपैयाँ कायम भएको छ । यो कम्पनीको शेयरमूल्य असार १६ गते बजार बढ्न शुरू गर्नुभन्दा अघिल्लो दिनको कारोबारमा प्रतिकित्ता १ हजार ४५० रुपैयाँ थियो । 

एक महीनाभन्दा बढी अवधिमा यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २७६ रुपैयाँले बढेको देखिन्छ । २०८० साल भदौ ३ गते दोस्रो बजारमा सूचीकृत हुँदा बजार सञ्चालकले पहिलो कारोबार मूल्य न्यूनतम १५९ रुपैयाँ ६७ पैसादेखि अधिकतम मूल्य ४७९ रुपैयाँ ९ पैसा तोकेको थियो । गतवर्षको भदौ ४ गते कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता अधिकतम मूल्य ४७९ रुपैयाँमै भएको थियो । हाल जलविद्युत् कम्पनीमध्येकै सर्वाधिक मूल्य कुथेली बुखारीको छ ।

गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी यो कम्पनीको तेस्रो त्रैमाससम्मको अवस्थालाई हेर्दा १ करोड ४२ लाख रुपैयाँभन्दा बढी खुद नाफा रहेको देखिन्छ । 

शेयर बजारका खेलाडीहरूले कम्पनीको नामै तोकेर कारोबार गराउने परिपाटी बढेकाले वित्तीय अवस्था कमजोर भएका र लाभांश दिन नसक्ने अवस्थाका कम्पनीको पनि शेयरमूल्य अस्वाभाविक वृद्धि भएको पाका लगानीकर्ता डम्बरुबल्लव घिमिरे बताउँछन् । 

‘मिडिया क्याम्पेन नै गरी निश्चित कम्पनीमा लगानी गर्न आकर्षित गरी आफू भने सुरक्षित तरिकाले बाहिरिने प्रवृत्ति वढको कारण सोझासाझा लगानीकर्ता फस्ने डर बढिरहेको छ,’ उनले भने । 

कतिपय कम्पनीको शेयरमूल्य अस्वाभाविक रुपमा वृद्धि भएको कुरालाई बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि स्वीकारेको छ । नेप्सका सूचना अधिकारी मुराहरि पराजुलीले नेपालमा सामाजिक सञ्जालमार्फत अस्वाभाविक रूपमा कम्पनीको शेयरमूल्य बढाउने गरी गतिविधि भइरहेको र यस्तो गतिविधि रोक्ने कानून आवश्यक रहेको बताए । 

विभिन्न देशमा अनुमतिपत्र लिएर मात्रै शेयरबजार विश्लेषक बन्न पाइने प्रावधान रहेको बताउँदै नेपालमा त्यस्तो व्यवस्था हुनुपर्ने उनले बताए । ‘कुनै विश्लेषकले कुनै कम्पनीको बारेमा अभिव्यक्ति दिने हो भने उक्त कम्पनीको शेयर आफूले कारोबार गर्न नपाउने व्यवस्था विभिन्न मुलुकमा छ । यस्तो प्रावधान स्वार्थको द्वन्द्व रोक्न बनाइएको हो,’ पराजुलीले भने । 

अस्वाभाविक रूपमा माग सृजना गर्न ठूला लगानीकर्र्ता दीपेन्द्र अग्रवाल सक्रिय रहेको आरोप धेरै लगानीकर्ताले सामाजिक सञ्जालमार्फत लगाएका छन् । अग्रवालले आफ्नो कागजातहरू नेपाल धितोपत्र बोर्डले लिएर गएको जानकारी गराए । उनी क्लब हाउसमार्फत हजारौं लगानीकर्तासँग जोडिएर कुन कम्पनीको शेयरमा लगानी गर्न उपयुक्त हुन्छ, कुनमा हुन्न भनी सुझाव दिइरहेको भेटिन्छन् । 

तर, आफूले आफ्नो अनुभव मात्र बाँडेको र अस्वाभाविक शेयर मूल्य बढाउन आफ्नो भूमिका नरहेको उनको दाबी छ । ‘म कुनै पनि कम्पनीमा सञ्चालक छैन । विशुद्ध लगानीकर्ताको हिसाबमा आम लगानीकर्तालाई लगानीसम्बन्धी धारणा बनाउन सहज होस् भनेर मेरो अनुभव मात्र सुनाउने गरेको छु,’ उनले भने ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।