शिवशिखर सहकारीका पूर्वअध्यक्ष शर्माविरुद्ध करीब २३ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

Share News

काठमाडौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्माविरुद्ध २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, भक्तपुरले गत शुक्रवार जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेको हो । शर्माले शिवशिखरसँगै तुलसी बहुमुखी सहकारी संस्थाको ११ अर्ब ४६ करोडभन्दा बढी रकम अपचलन गरेको दाबी गरिएको छ । 

भक्तपुर जिल्ला अदालतमा दायर भएको मुद्दामा नौ जना व्यवस्थापक÷कर्मचारी र २२ कम्पनीलाई प्रतिवादी बनाइएको छ । 

उक्त मुद्दामा शर्माकी पत्नी गीताविरुद्ध ५२ करोड ३३ लाख रुपैयाँको बिगो दाबी गरिएको छ । गीता पनि सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा छिन् । 

त्यस्तै, शिवशिखरका अध्यक्ष सुशील बानियाँ र व्यवस्थापक लीलानाथ गौतमविरुद्ध जनही पाँच अर्ब ४८ करोड ४५ लाख बिगो कायम गरिएको छ । सोही मुद्दामा शिवशिखर सहकारीका सचिव तेजबहादुर तामाङविरुद्ध ७१ करोड नौ लाख १८ हजार, सहकारीको सञ्चालक समिति सदस्य पुष्कर मल्लविरुद्ध १० करोड ६३ लाख, सबिना न्यौपाने एक करोड २४ लाख, र तुलसी सहकारीका कर्मचारी मन्दीप खवासविरुद्ध २० लाख रुपैयाँ बिगो दाबी गरिएको छ । 

सरकारी वकिलको कार्यालयले सहकारीको पैसा लगानी गरिएका कम्पनीहरूलाई पनि प्रतिवादी बनाएको छ, जसमा शिव शिखर एग्रो, शिखरदीप फुड इन्डष्ट्रिज, शिखरदीप एग्रो, गोरखा टी एन्ड कफी इन्डष्ट्रिज, शिखर मेसिनरी एण्ड अटो मोबाइल्स, नटराज एग्रो, गार्डेन मार्ट, तुलसी फुड इन्डष्ट्रिज, उपकार गार्मेन्ट र हिमालयन लायन कन्सट्रक्सन एण्ड मल्टी सोलुसन प्रालि छन् । यस्तै, तुलसी मोटर पम्प इन्डष्ट्रि, तुलसी कृषि अनुसन्धान, गोरखा वेभरेज, उपकार मिडिया ग्रुप, शिखर स्पाइस एड फ्रुट इन्डष्ट्रिज र शिखर अर्गनाईजेसन लिमिटेडविरुद्ध मुद्दा दायर गरिएको छ । यी कम्पनीमा केदारनाथ शर्मा समेतको लगानी रहेको छ । 

यसैगरी, होटेल पोप लाइफ, शिवशिखर खाद्य उद्योग, त्रिदेवी फ्लोर एन्ड आयल इन्डष्ट्रिज, टेक्नो डोन, डिजिटल शिखर र त्रिदेवी फुड इन्डष्ट्रिजविरुद्ध मुद्दा दायर गरिएको छ । यी कम्पनीहरूमा गीता शर्मा समेतको लगानी छ ।

सहकारीको पैसा गैरकानुनीरूपमा ती कम्पनीमा लगानी गरेर सम्पत्ति शुद्धीकरण गरिएको आधारमा मुद्दा दायर गरिएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।