काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको बैठक हुने तयारी भइरहँदा नेपालका तयारी पोशाक निर्यातकर्ताहरूले सम्भावना बढी भएका तयारी पोशाकमा भन्सार छूटका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।
भदौको अन्त्यतिर यो संयन्त्रको बैठक नेपालमै हुने कार्यक्रम रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन् । नेपाली तयारी पोशाकका लागि अमेरिका सबैभन्दा ठूलो आयककर्ता मुलुक रहँदै आएको छ ।
अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शून्य भन्सार महशुल सुविधा प्रदान गरेको छ । उक्त सूचीमा रहेका वस्तुहरू सोचेजस्तो निर्यात हुन नसकेको र बढी सम्भावना भएका अन्य तयारी पोशाकलाई समावेश गर्न अमेरिकासँग लबिङ गर्न तयारी पोशाक निर्यातकहरूले सरकारलाई आग्रह गरेका हुन् ।
सन् २०१६ बाट लागू भएको एनटीपीपीको म्याद बढाउन उच्च स्तरमा कूटनीतिक लबिङ गर्न पनि उनीहरूले सरकारसमक्ष आग्रह गरेका छन् । सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गएको र त्यसले देशको अर्थतन्त्रमा असर गरेको भन्दै त्यसमा केही राहत होस् भनेर १० वर्षका लागि अमेरिकाको संसदले ऐन नै पारित गरी नेपालको तयारी पोशाकलगायत ७७ वस्तुमा भन्सार छूट दिएको थियो । उक्त ऐनको म्याद डिसेम्बर २०२५ मा सकिँदै छ । म्याद सकिन १६ महीनामात्र बाँकी रहँदा उक्त ऐनको म्याद बढाउन आग्रह गर्नुपर्ने आवाज तयारी पोशाक निर्यातकर्ताबाट आएको हो ।
टिफा बैठक तयारी गर्ने क्रममा सरकारले बुधवार आयोजना गरेको बैठकमा उपस्थित तयारी पोशाक निर्यातकहरूले निर्यातका सम्भावना बढी भएका र हाल भन्सार दर बढी भएका वस्तुमा भन्साररहित सुविधाका लागि अमेरिकासँग आग्रह गर्न सुझाव दिएको नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले आर्थिक अभियानलाई बताए ।
हाल नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामअन्तर्गत ७७ ओटा हार्मोनाइज्ड कोड भएका सल, लगेज, कार्पेट, पछ्यौरा, हाते झोला, पर्स, यात्रा गर्दा प्रयोग गरिने झोला, टाउकोमा लगाइने फित्ता, ब्लांकेट, टोपी र पञ्जालगायत वस्तु छन् ।
‘यी वस्तुमा ४ देखि ९ प्रतिशतसम्म मात्र भन्सार लाग्छ,’ पाण्डेले भने, ‘भूपरिवेष्टित राष्ट्र र नराम्रो पूर्वाधारका कारण हाम्रो लागत नै अन्य देशको भन्दा बढी भएकाले हामीले यति वस्तुको भन्सारमा पाएको सुविधाले नपुग्ने देखियो । त्यसैले निर्यात बढाउन सकिएन ।’
उनका अनुसार नेपालीले निर्यात गर्न चाहेका वस्तुमा १४ देखि ३४ प्रतिशतसम्म भन्सार लाग्छ । ती वस्तु निर्यात गर्न सके नेपालले भन्सार दरमा पाउने सुविधाबाट तयारी पोशाकको निर्यात बढाउन सक्ने पाण्डेले बताए ।
संघका अनुसार नेपालका १५ थरी तयारी पोशाकको अमेरिका निर्यात सम्भावना उच्च छ । ‘हामीले त्यसमध्ये आठथरी वस्तुमा मात्र भन्सार छूट भए पनि निर्यात बढाउन सकिने भनी सरकारलाई भनेका छौं,’ संघका कोषाध्यक्ष सञ्जय अग्रवालले भने, ‘यी वस्तुलाई हामी फास्ट मुभिङ वर्ग भन्छौं, जसमा कट्टु, सर्ट, ज्याकेट, महिलाका कपडालगायत छन् । यसमा सुती र सिन्थेटिकको छुट्टाछुट्टै वर्ग पर्छन् ।’
उनले ७७ थरी वस्तुमा सुविधा हुँदै नभए पनि ती आठथरी वस्तुमा भन्सार सुविधा अमेरिकाले दिए नेपाली गार्मेन्ट उद्योग माथि उठ्न सक्ने बताए ।
काठमाडौंमा रहेको एउटा थिंकट्याक– साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले सन् २०२२ मा गरेको अध्ययनले भने एनटीपीपीअन्तर्गत पाएको सुविधाबाट नेपालले खासै फाइदा लिन नसकेको देखाएको छ । खासमा अन्य विभिन्न वस्तुको अमेरिका निर्यात सन् २०१७ देखि सन् २०२१ बीचमा बढे पनि एनटीपीपीअन्तर्गतका वस्तुको निर्यात घटेको देखिएको छ ।
त्यसैले अहिले एनटीपीपी म्याद थपिएमा नेपालको सम्भावना भएका तयारी वस्तुको निर्यातमा भन्साररहित सुविधा उपलब्ध गराउन पहल गर्नुपर्ने संघका पदाधिकारी बताउँछन् । ‘ऐन नै पास गराउन सानो प्रयासबाट हुने छैन,’ पाण्डेले भने, ‘अमेरिकाको संसद्ले यसको निर्णय गर्नुपर्छ । त्यसैले उच्चस्तरको लबिङ आवश्यक हुन्छ ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।