'नाडा अटो शो'को छेकोमा चारपाङ्ग्रे सवारी साधनको आयात साढे तीन गुणाले बढ्यो*

नाडा अटो शो २०२३ मा प्रदर्शनीमा राखिएको विद्युतीय कार, फाईल तस्वीर: सुनील शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालमा यात्रुवाहक विद्युतीय सवारी साधनको आयात गत आवको सोही अवधिको तुलनामा साढे तीन गुणाले बढेको छ ।

भन्सार विभागको  तथ्यांकअनुसार चालू आवको साउनदेखि भदौ सम्ममा रु ८९ करोड ७० लाख २० हजार मूल्य बराबरको ३८१ विद्युतीय कार, जिप र भ्यान आयात भएको छ भने गत वर्षको सोही अवधिमा रु ३४ करोड ६१ लाख बराबरको ११० थान विद्युतीय सवारी साधन आयात भएको थियो ।

कूल ३८१ मध्ये २०२ वटा गाडी चीनबाट ५६ करोड ८६ लाख ६० हजार रुपैयाँ को आयात भएको छ भने बाँकी जर्मनीबाट १ बाहेक भारतबाट आयात भएको छ । सो अवधिमा ५० किलोवाट र ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारी साधन आयात भएको  तथ्यांकले देखाएको छ । 

कूल ३८१ मध्ये १६१ वटा विद्युतीय सवारीसाधन ५० किलोवाटसम्मका, २१६ वटा ५१ देखि १०० किलोवाटसम्मका, एउटा १०१ देखि २०० किलोवाटसम्मका, दुईवटा २०१ देखि ३०० किलोवाटसम्मका र बाँकी एउटा ३०० किलोवाटभन्दा माथिका छन् ।

गत आवको सोही अवधिमा चीनबाट ८३ थान र भारतबाट २७ थान प्यासेन्जर इभी आयात भएको थियो । तीमध्ये ५० किलोवाटसम्मका २१, ५० देखि १०० किलोवाटसम्मका ८१, १०० देखि २०० किलोवाटसम्मका पाँच र बाँकी तीन २०१ देखि ३०० किलोवाटसम्मका छन् ।

 

आयातमा ३.५ गुणाले वृद्धि भएसँगै सरकारले गत आर्थिक वर्षको पहिलो महिनामा १८ करोड २३ लाख ९० हजार रुपैयाँ को आयात राजस्व संकलन गरेकोमा ५२ करोड १८ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  

गत आवमा रु २९ अर्ब ४८ करोड मूल्य बराबरको ११ हजार ७०१ थान विद्युतीय सवारी साधन आयात भएकोमा नेपाली बजारमा चीनबाट आयात हुँदा रु १३ अर्ब २८ करोड राजस्व संकलन भएको छ ।

नाडा अटो शो २०२४ मा पनि विद्युतीय सवारी साधन आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा यही भदौ १५ गतेदेखि ६ दिनसम्म चल्ने मुलुककै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी अटो डिलरले आयोजना गर्ने भएका छन् ।

मेलामा ९५ वटा कम्पनी तथा संस्थाले १३० वटा स्टलमा आफ्ना उत्पादन तथा सेवाहरु प्रस्तुत गर्ने छन् भने ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । यस वर्षको प्रदर्शनीमा २४ वटा चारपाङ्ग्रे, १९ वटा दुईपाङ्ग्रे र १२ वटा हलुका कमर्सियल भेहिकल ब्राण्डका गाडीहरु प्रदर्शनीमा राखिनेछन् ।

बैंक तथा वित्तीय संस्थाले नाडा अटो शो २०२४ र चाडबाडलाई लक्षित गरी सवारी साधन (अटो) कर्जालाई पनि प्राथमिकतामा राखेका छन् । लगानीका लागि बढी तरलता भएकाले बैंकहरुले न्यून ब्याजदर र विभिन्न सहुलियतसहित अटो लोन स्किम घोषणा गर्न थालेका छन् ।

अटोमोबाइल्स शो आयोजकका अनुसार यो मेलामा बैंक तथा वित्तीय संस्थाका करिब डेढ दर्जन स्टलहरु रहनेछन् र यो देशकै प्रमुख कार्यक्रमका रुपमा रहेको छ ।

*सच्याइएको

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।