विमान दुर्घटनाको दोषीमाथि कारबाही

Share News

क्याप्टेनबाहेक विमानमा सवार सबै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सम्बद्ध व्यक्ति तथा संस्थाहरूको लापर्बाही देखिएको दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ । यसमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनी दुवैको त्रुटि देखिएको छ । यस्तोमा नियामक निकायलाई जिम्मेवार र उत्तरदायी बनाउन दोषीमाथि कारबाही गर्न विलम्ब गर्नु हुँदैन । नेपालमा छिटोछिटो हवाई दुर्घटना हुँदा नेपालको उड्डयन क्षेत्र नै बदनाम भइरहेको छ । दुर्घटनाका कारण यात्रुहरू हवाई यात्रा गर्न डराइरहेका छन् । यसले पर्यटन क्षेत्रमा असर पारिरहेको छ । यूरोपेली संघले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको छ जसका कारण नेपालका वायुसेवा कम्पनीहरूले यूरोपमा उडान गर्न पाउँदैनन् । तर, नियामक निकाय र कम्पनीहरूको लापर्बाहीका कारण अनाहकमा नागरिकको ज्यान गएको छ । नेपाल सन् २०१३ देखि नेपाल हवाइ क्षेत्र यूरोपेली यूनियनको कालोसूचीमा छ र अहिले देखिएको लापर्बाहीले गर्दा नेपाल कालोसूचीमा रहिरहने सम्भावना बढाएको छ । दुर्घटनापछि गठित छानबिन आयोगले नियामक र कम्पनी दुवैलाई दोषी देखाएको छ जुन निकै गम्भीर छ । 

विगतमा दुर्घटनामा पाइलटको समेत मृत्यु हुने गरेको थियो र सबै दोष उसैमाथि थोपर्ने गरिएको थियो जसले गर्दा नियामक निकायको कमजोरी छोपिएको थियो । तर, अहिले दुर्घटनामा पाइलट जीवित रहेकाले उसलाई मात्र दोष देखाउने सम्भावना कम भएकाले सही छानबिन भएको अनुमान गर्न सकिन्छ । सी चेकका लागि पोखरा उड्न लागेको विमानमा सम्बद्ध प्राविधिकबाहेक अरूलाई उडाउन नपाइने नियम मिचेर विमानमा यात्रुहरू चढाउन दिनु र यस्तो विमानलाई उडानको अनुमति दिनु नियामकको कमजोरी हो । निश्चित प्रक्रिया र मापदण्ड पूरा नगर्ने विमानलाई उडान अनुमति दिइँदैन । यसमा निकै कडाइ गरिन्छ । सानो गल्ती गर्दा पनि प्रक्रियामा अनदेखा गर्ने कर्मचारीलाई कारबाही र निलम्बन गर्ने गरिन्छ । आयोगले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले नियामकले प्रक्रिया पूरा नगरे पनि उडानको अनुमति दिएको भनी उल्लेख गरेको छ । नियामक निकायले नियम मिचेर वायुसेवा कम्पनीहरूलाई उडानको अनुमति दिने गरेको समाचार पटकपटक आइरहेको पाइन्छ । नियामक र सेवाप्रदायक एउटै कम्पनी भएकाले मापदण्ड मिच्न सजिलो भएको हो । ईयूले विमान कम्पनीहरूको नामै तोकेर तिनीहरूले केके कुरामा सुधार गर्न आवश्यक छ भन्दा पनि सुधार नगर्ने अनि हरेक वर्ष सुधार आएकाले कालोसूचीबाट पक्का हट्छ भन्ने हचुवा अभिव्यक्ति दिने काम नियामक निकायले गर्दै आएको छ । यही कुरालाई विश्वास गरेर मन्त्रीले पनि सोहीअनुसार अभिव्यक्ति दिने गरेको पाइन्छ । समस्याको प्रमुख कारक एउटा यही हो । 

त्यसो त पाइलटको पनि गल्ती नभएको होइन । आयोगले दिएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानमा बढी तौल भए पनि सिष्टममा कम तौल देखाएका कारण गति सन्तुलन नहुँदा विमानले उचाइ लिन नसकेको हो । यसमा पाइलटको कमजोरी देखिएको छ । पाइलटले त्यसो गर्नुमा कम्पनीको दोष देखिन्छ । त्यसैले वायुसेवा कम्पनीले जानाजान नियम मिचेको देखिन्छ ।  त्यसैले सबैभन्दा पहिले नियामक निकायलाई जिम्मेवार बनाउन आवश्यक छ । प्रतिवेदनले नियामकको कमजोरी स्पष्ट देखाएकाले नियामक निकायका जिम्मेवार अधिकारीलाई कारबाही गर्नु आवश्यक छ । अहिलेसम्म सबैजसो दुर्घटनामा अधिकारीहरू चोखिँदै आए पनि अहिले भने उनीहरूको दोष देखिएको छ । नियामक निकायका अधिकारीहरूले वायुसेवा कम्पनीहरूबाट अवैध रकम लिएर तिनलाई आफूखुशी गर्न छूट दिएको आरोप लाग्ने गरेको छ । आयोगको प्रतिवेदनले पनि त्यसलाई पुष्टि गरेको छ । त्यसैले नियामक निकायलाई जिम्मेवार बनाउनुपर्छ र अहिले दोषी देखिएका अधिकारी पत्ता लगाएर तिनमाथि कारबाही हुनैपर्छ । त्यस्तै कम्पनी र पाइलटलाई पनि दोषको भागीदारीअनुसार कारबाही गर्नुपर्छ । विगतमा जस्तो प्रतिवेदन थन्क्याउने काम भयो भने हवाई क्षेत्र पूरै बदनाम हुन सक्छ । अर्को नियामक र सेवाप्रदायक गरी प्राधिकरणलाई टुक्र्याउनेतिर तत्काल लाग्नुपर्छ जसले गर्दा नियमन प्रभावकारी हुनसक्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।