वीरगञ्ज। स्वदेशमा अन्तरराष्ट्रिय मापदण्डको प्रयोगशाला नहुँदा भारतका विभिन्न शहरमा गएर मालसामानको परीक्षण गर्नुपर्दा अनेक समस्या भोग्नुपरेको र व्यवसायको लागत बढेको व्यवसायीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, व्यापार समितिका सभापति डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा बिहीवार नेपाल नापतौल तथा गुणस्तर विभागका महानिर्देशक कुमारी ज्योति जोशीलाई भेट्न पुगेका व्यवसायीले सबै मुख्य भन्सार नाकामा मान्यताप्राप्त प्रयोगशालासहितको एकीकृत जाँच चौकीको व्यवस्था गर्न माग गरेका हुन् ।
यसबाट गुणस्तरहीन मालसामानको आयात र निर्यात दुवै नियन्त्रण हुने दाबी व्यवसायीले गरे । अहिलेका प्रयोगशालाको प्राविधिक क्षमता वृद्धि गर्न आग्रह गरिएको छ । स्वदेशका प्रयोगशालाबाट भएको परीक्षण अन्तरराष्ट्रिय मापदण्डअनुसार रहेको निश्चित गरी व्यापार साझेदार मुलुकका सम्बन्धित निकायबाट मान्यता दिलाउन व्यवसायीले सुझाएका छन् । विभागबाट गरिने अनुगमन टोलीमा निजीक्षेत्रको प्रतिनिधि हुनुपर्ने र यसबाट अनुगमन प्रभावकारी हुने उनीहरूले बताए । चामलमा अनेक सुगन्ध मिसाएर आयात भइरहेको र यसबाट उपभोक्ताको हक तथा स्वास्थ्यमाथि खेलवाड भइरहेको गुप्ताले बताए ।
व्यवसायीसँगको छलफलमा विभागका महानिर्देशक जोशीले पुरानो कानून तथा सीमित स्रोतसाधनका कारण अपेक्षाकृत सेवा दिन नसकिएको बताइन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।