नेप्सेको वृद्धि एक दिनभन्दा बढी टिकेन, कारोबार रकम भने बढ्यो

Share News

काठमाडौं । लगातार ६ कारोबार दिनपछि गत बिहीवार (अघिल्लो कारोबार दिन) बढेको नेप्से परिसूचक आइतवार (आज) पुन: घटेको छ । अर्थात् नेप्सेको वृद्धि एक दिनभन्दा बढी टिक्न सकेन ।

आज नेप्से ५० दशमलव ७३ अंक घटेर २ हजार ६३७ दशमलव ७९ विन्दुमा झरेको हो । गत बिहीवार भने नेप्से ७८ दशमलव ३१ अंक बढेको थियो । 

आज 'इन्ट्राडे'मा बजार २ हजार ७३४ दशमलव ५८ विन्दुसम्म पुगेको थियो । बढेको बजारमा विक्रेता हाबी भएपछि नेप्से घटेको जानकार बताउँछन् । यसले लगानीकर्ता बजारप्रति विश्वस्त नभएको देखिएको उनीहरूको भनाइ छ ।

कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा आज केही बढेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब रू. १६ करोड बराबरको कारोबार भएकोमा आज रू. १० अर्बभन्दा बढीको कारोबार भएको हो । 

यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ६४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ८० प्रतिशत घटेको छ । 

आज ३२४ धितोपत्रको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १ लाख १९ हजार ७३९ पटकमा रू. १० अर्ब ३३ करोडभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । 

थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९३५ दशमलव ६० मा झरेको छ । त्यस्तै ग्रीनलाइफ हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४० प्रतिशत घटेर रू. २६९ कायम भएको छ । 

आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ६४ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ३५ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर  एण्ड डेभलपमेन्ट छ । कम्पनीको रू. ३५ करोड २८७ लाख बराबरको कारोबार भएको छ । 

यस दिन कारोबारमा आएका १३ओटै समूहगत सूचक घटेका छन् । तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ६८ प्रतिशत घटेको छ । त्यसपछि वित्त समूहको ३ दशमलव ५३ प्रतिशत र लगानी समूहको सूचक २ दशमलव ८० प्रतिशतले घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।