अन्तर्राष्ट्रिय बजार सुनिश्चत भएकोले नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई आग्रह

Share News

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपालको विद्युत्को अन्तर्राष्ट्रिय बजार सुनिश्चित भएकोले  नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई गर्न आग्रह गरेको छ ।

क्यानेडिएन ड्याम एशोसिएसनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रममा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले  यस्तो आग्रह गरेका हुन ।

कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदा हुँदै पनि अहिलेससम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन रहेको उल्लेख गरेका थिए । उनले विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेको बताए । 

उनले अगाडि भने, "सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता कम्तिमा ७२ हजार मेगावाट छ । यसको लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानेडिएन लगानीकर्ताहरूलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हासिल गर्न आग्रह गर्दछु ।"

बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बङ्गलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताएका थिए । 

बङ्गलादेशमा ४० मेगावाट विद्युत निर्यात थोरै लागेपनि बङ्गलादेशको विद्युत माग पुरा गर्न सन २०४० सम्म बङ्गलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्नुपर्ने प्रक्षेपण रहेको जानकारी गराएका थिए ।
दुई ठूला अर्थतन्त्र भएका भारत र बङ्गलादेशमा विद्युतको माग  रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालको जलविद्युतमा  लगानी गर्न क्यानेडिएन लगानीकर्तालाई कार्कीले आग्रह गरेका हुन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।