काठमाडौं । नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासोन्मुखमा स्तरोन्नति भए पनि बेलायतबाट सन् २०२९ सम्म अहिलेको सरह शून्य भन्सार सुविधा पाइरहने भएको छ ।
बेलायत सरकारले विकासोन्मुख ६५ देशका लागि भन्सार छूटको सुविधा दिने गरी सन् २०२३ को जुनदेखि डेभलपिङ कन्ट्रिज ट्रेडिङ स्किम (डीसीटीएस) कार्यान्वयनमा ल्याएको छ । यसले सामान्य ग्राह्यता प्रणाली (जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स–जीएसपी) को सुविधा विस्थापित गर्छ । यसअन्तर्गत सुविधा पाउने देशहरूलाई तीन वर्गमा राखी धेरै वा थोरै वस्तुमा भन्सार तथा कोटारहित सुविधा घोषणा गरिएको छ ।
नेपाललगायत अतिकम विकसित र न्यून आय भएका ४७ देशले व्यापक प्राथमिकता (कम्प्रेहेन्सिभ प्रिफरेन्स) सुविधा पाउँछन् । यसअन्तर्गत ९९ दशमलव ८ प्रतिशत वस्तुमा शून्य भन्सार महशुल लाग्छ । हतियार र खरखजानाबाहेक अरू सबै वस्तु बेलायतमा शून्य भन्सार दरमा पठाउन सकिन्छ । तर, नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासोन्मुखमा स्तरोन्नति हुने कार्यक्रम छ । नेपालले त्यसपछि थप ३ वर्ष संक्रमणकालका रूपमा बिताउनेछ ।
‘यसको अर्थ नेपालले सन् २०२९ सम्म कम्प्रेहेन्सिभ प्रिफरेन्सअन्तर्गतको सुविधा पाउनेछ,’ बेलायत सरकारअन्तर्गतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका दक्षिण, मध्य र दक्षिणपूर्वी एशिया हेर्ने क्षेत्रीय व्यापार तथा विकास सल्लाकार फाबियान हार्टवेलले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने । स्तरोन्नति भइसकेपछि यस्ता देश आर्थिक रूपमा जोखिमपूर्ण स्थितिमा रहने भएकाले बेलायत सरकारले आर्थिक जोखिमको पक्षलाई समीक्षा गरिरहने बताएको छ ।
नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा दूतावासले डीसीटीएसअन्तर्गत अन्य वर्गको देशका लागि पनि भन्साररहित सुविधा भएको बताए । दोस्रो वर्गमा कम आय भएका र न्यून मध्यम आय भएका विकासोन्मुख मुलुक पर्छन् । यो वर्गका देशहरूले इन्हान्स्ड प्रिफरेन्स शीर्षकअन्तर्गत भन्साररहित सुविधा पाउँछन् । यसअन्तर्गत १६ देश पर्छन् र तिनले आफ्नो देशको ९२ प्रतिशत वस्तु बेलायत निर्यातमा भन्साररहित सुविधा पाउँछन् । नेपालको स्तरोन्नति भएपछि यो वर्गको सुविधा पाउनेमा नेपाल पर्नेछ । तर, सन् २०२९ सम्म भने कम्प्रेहेन्सिभ प्रिफरेन्सअन्तर्गत नै सुविधा पाउने बेलायती दूतावासले जानकारी दिएको छ ।
तेस्रो वर्गका देशहरूले स्ट्यान्डर्ड प्रिफरेन्स कार्यक्रमअन्तर्गत भन्साररहित सुविधा पाउँछन् । यसअन्तर्गतका देशले आफ्ना ६५ प्रतिशत वस्तु बेलायत निर्यात गर्दा भन्साररहित सुविधा पाउँछन् भने थप २६ प्रतिशत वस्तु बेलायत निर्यात गर्दा भन्सार दरमा सुविधा पाउँछन् ।
नेपालले भने यो सुविधाको खासै उपयोग गर्न नसकेको सोमवारको कार्यक्रममा हार्टवेलले दिएको प्रस्तुतीकरणमा देखियो । दक्षिण एशियामा नेपाल यो सुविधा उपयोग गर्नेमा पाँचौं नम्बरमा छ । भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकापछि नेपालले यो सुविधा उपयोग गरेको देखिन्छ । बेलायत नेपालका लागि ठूलो निर्यात बजार हो ।
स्तरोन्नतिपछि नेपालले पाउने भन्साररहित सुविधा गुम्ने सन्दर्भमा नेपालका साना तथा मझौला उद्योगको क्षमता बढाउन बेलायतले व्यापार साझेदारी कार्यक्रम सन् २०१९ देखि सञ्चालनमा ल्याएको छ । यस कार्यक्रमअन्तर्गत बजार पहुँच दिलाउन सहयोग पर्याउने, व्यापारका लागि सहयोग र नेपाल इन बिजनेशजस्ता निजीक्षेत्रलाई सहयोग गर्ने कार्यक्रम सञ्चालनमा रहेको बेलायती दूतावासले जानकारी दिएको छ ।
उक्त अवसरमा सरोकारवालाहरूले सन् २०२९ सम्म नेपालले एलडीसीअन्तर्गतकै सुविधा पाउने भएकाले बंगलादेशले जस्तै सुविधाको उपयोग गर्न सक्नुपर्ने बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीले बेलायतले उपलब्ध गराएको उक्त स्किमको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए ।
डीसीटीएसमार्फत दुईपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने बलियो उदाहरण बंगलादेश रहेको भन्दै सचिव कार्कीले भने, ‘नेपालले अहिले बेलायतमा कम वस्तु निर्यात गरेको छ भने अर्काेतिर एलडीसीबाट स्तरोन्नति हुँदै छ । यस हिसाबले ९९ प्रतिशत वस्तु निकासीमा पाउने ड्युटी फ्रीको यो योजनाबाट नेपाली लगानीकर्ताले लाभ लिनुपर्छ ।’
नेपालका लागि बेलायती राजदूत रब फेनले नेपाली साना उद्यमीको क्षमता अभिवृद्धिमा बेलायतले सघाइरहेको बताए । नेपालबाट बेलायतमा पश्मिना निर्यात र त्यसको भण्डारका लागि समझदारी हुने क्रममा रहेको पनि उनले उल्लेख गरे । नेपाली उद्यमीलाई सहयोग गर्ने नीतिअनुसार नै मुस्ताङको पश्मिना फार्मसम्म पुगेको उल्लेख गर्दै फेनले थपे, ‘हामीले उत्पादनलाई प्रविधिमैत्री बनाउन, बजारीकरण र ब्रान्डिङका पक्षमा सघाउनेछौं ।’
हार्टवेलले कार्यपत्र प्रस्तुत गर्दै डीसीटीएस स्किममा नेपालले निर्यात गर्ने वस्तु शतप्रतिशत ड्युटी फ्रीअन्तर्गत पर्ने भन्दै यसको लाभ लिन नेपाललाई आग्रह गरे । उनले आफ्नो प्रस्तुतीमा भनेका छन्, ‘नेपालबाट २५ प्रकारका वस्तु निर्यातको उच्च सम्भावना छ । त्यसमा स्पोर्टस् फुटवेयरदेखि गार्मेन्ट, बेबी गार्मेन्टसम्म पर्छन् ।’
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डीसीटीएस नेपालका लागि अवसर रहेको भन्दै यसका लागि नेपाली उद्यमीको क्षमता अभिवृद्धिका लागि प्रविधि भित्त्याउन सहजीकरण गरिदिन बेलायती दूतावासलाई आग्रह गरे । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले दुईपक्षीय व्यापारका साथै नेपालको पर्यटन, पूर्वाधार, ऊर्जालगायत क्षेत्रमा बेलायती लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।