भारतको विधानसभा चुनाव : हरियाणामा भाजपा र जम्मू कश्मीरमा इन्डिया गठबन्धनलाई बहुमत

Share News

काठमाडौं । भारतको हरियाणा राज्यको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ । 

भारतको निर्वाचन आयोगलाई उद्धृत गर्दै ‘दहिन्दुडटकम’मा प्रकाशित समाचारअनुसार हरियाणा विधानसभाको ९० सिटमा भाजपाले ४८ सिट (बहुमतका लागि ४६ सिट)मा जित हासिल गरेको छ । भारतीय कंग्रेस नेतृत्वको गठबन्धनले भने ३६ सिट जितेको छ । उसले १ स्थानमा अग्रता बनाइरहेको छ । यस्तै, अन्यले ५ सिटमा जित हासिल गरेका छन् । 

अघिल्लो निर्वाचनमा भाजपाले ४० सिट जितेको थियो । 

मतपरिणामपछि कंग्रेसले असन्तुष्टि जनाएको छ । कंग्रेस महासचिव जयराम रमेशले हरियाणाको चुनाव परिणाम अप्रत्याशित तथा आश्चर्यजनक भएको बताएका छन् । ‘हरियाणामा हामीबाट जित खोसिएको छ...चुनावी परिणाम जनताको परिवर्तनको भावनाविरुद्ध छ,’ उनले भनेका छन् ।  

चुनावअघिका सर्वेक्षणमा भने कंग्रेस नेतृत्वको गठबन्धनले बहुमत हासिल गर्ने आँकलन गरिएका थिए । 

हरियाणामा गत शनिवार मतदान भएको थियो । 

जम्मू–कश्मीरमा इन्डिया गठबन्धनलाई

जम्मू–कश्मीरमा भएको निर्वाचनमा भने इन्डिया गठबन्धनले बहुमत हासिल गरेको छ । ९० सिटको लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार इन्डिया गठबन्धनले ४८ सिट हासिल गरेको छ, जसमा नेशनल कान्फ्रेन्सको ४२ र भारतीय कंग्रेसको ६ सिट छ । 

उक्त राज्यमा भाजपाले भने २९ सिटमा जित हासिल गर्दै दोस्रो ठूलो पार्टी बनेको छ । गत निर्वाचनमा भाजपाले २५ सिट जितेको थियो । 

यसअघिको निर्वाचनमा भाजपासँग मिलेर सरकार बनाएको पार्टी पीडीपीले ३ सिट मात्रै जितेको छ । गत निर्वाचनमा पीडीपीले २८ सिट जितेको थियो । 

यस्तै, ७ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

जम्मू–कश्मीरमा गत सेप्टेम्बर १८, २५ र अक्टुवर १ गरी तीन चरणमा मतदान भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।