काठमाडौं । उत्तरका दुई प्रमुख नाका तातोपानी र रसुवागढी निर्बाध सञ्चालनमा आउन नसक्दा ठूलो संख्याका विद्युतीय गाडी (ईभी) चीनमै रोकिएका छन् ।
नेपालमा ईभीप्रतिको आकर्षण अत्यधिक बढिरहेका बेला सीमा वारि र पारिको सडक बाढीपहिरोले क्षतविक्षत बनाएका कारण चीनमा बुकिङ भएका करीब ८०० ईभी उतै रोकिएको भन्सार कार्यालयहरूले बताएका छन् ।
गाडी विक्रेता र भन्सार अधिकारीहरूले दिएको प्रारम्भिक जानकारीअनुसार ठूलो संख्यामा बुकिङ भइसकेका गाडी उतै रोकिएका हुन् । विद्युतीय गाडी चलाउन सजिलो र खर्च पनि निकै कम हुने भएकाले पछिल्लो समय यसप्रतिको आकर्षण उच्च छ । ओमोडा र जेको ब्रान्डको ईभी विक्रेता एसपीजी अटोमोबाइलका प्रतिनिधि ज्ञानेन्द्र चन्दले बुकिङ भइसकेका चिनियाँ कम्पनीका करीब ३०० भन्दा बढी ईभी कम्पनीले ल्याउन नसकेको बताए । ‘ठूलो संख्यामा ईभी गाडी रोकिएका छन्,’ उनले भने, ‘हामीले ल्याउने ओमोडा र जेको ब्रान्डका गाडी मात्रै ३०० भन्दा बढी बुकिङ थियो ।’
बाटो बिग्रिएका कारण बुकिङ भएका गाडी ल्याउन नपाउँदा बुकिङ गर्ने ग्राहकलाई समयमै हस्तान्तरण गर्न नसकेको उनले बताए । ‘तत्काल समुद्री मार्गबाट ल्याउने योजना बनाइसकेका छैनौं । स्थलमार्ग नै छिट्टै खुल्ने प्रतीक्षामा छौं,’ उनले थपे ।
भन्सार अधिकारीहरूले समेत सीमा वारि र पारि भएको सडक अवरोधका कारण उत्तरी नाकाबाट आउने नयाँ ईभी पूर्ण रूपमा ठप्प भएको बताए । अधिकारीहरूका अनुसार तत्कालै सडक सुचारु हुने सम्भावना छैन । सरकारलाई ईभीबाट राम्रो आम्दानी भइरहेको बेला नयाँ गाडी नआउँदा राजस्व लक्ष्य भेट्नसमेत अब नसक्ने स्थिति आएको भन्सार अधिकारीहरूको भनाइ छ ।
तातोपानीका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले बाढीपहिरोले सडक प्रभावित भएका कारण ठूलो संख्यामा मालवस्तु आउन नसकेको बताए । उनका अनुसार बाढीपहिरोअघि करीब ३०० नयाँ ईभी विक्रेताले नेपाल ल्याएका थिए । सोही संख्यामा दशैंमा ल्याउने तयारी रहेको भन्सार कार्यालयलाई जानकारी आएको थियो । तर, बुकिङ भइसकेका ती ईभी सडक बिग्रिएका कारण नेपाल आउन नसकेको काफ्लेले बताए ।
‘एउटा कारबाट २०–२२ लाख नै राजस्व संकलन हुन्थ्यो, त्यो पूर्ण रूपमै रोकिएको छ,’ काफ्लेले भने, ‘व्यापारीले सामान ल्याउन पाएनन् भने राज्यलाई दैनिक करोडौं राजस्व घाटा हुन्छ ।’ हरेक दिन अवरुद्ध सडक खुलाउने काम भइरहेको र १ साताभित्रै तातोपानी नाकाबाट केही मालवस्तु नेपाल आउन सक्ने सम्भावना रहेको काफ्लेले बताए ।
रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्रप्रसाद प्याकुरेलले पनि सडक बिग्रिएका कारण नयाँ गाडीसँगै अन्य मालवस्तु रसुवागढी नाकाबाट ल्याउन नसकिएको बताए । दशैंअघि १५ सय हाराहारी ईभी भित्रिएको उनको भनाइ छ । उनका अनुसार रसुवागढी नाकाबाट आयात हुने गरी व्यापारीले ४/५ सय नयाँ गाडी बुकिङ गरेको अनौपचारिक जानकारी आएको थियो । ‘ती गाडी तिहारअघि नै आउँथे शायद,’ उनले भने, ‘नेपालतर्फको बाटो ठीक भए पनि चीनतर्फको सडक पूरै बगाएका कारण तत्काल सुचारु हुन सक्ने अवस्थै छैन ।’
तिहारअघि नाका निर्बाध चलाउन चिनियाँ पक्षसँग निरन्तर लबिङ भने भइरहेको छ । रसुवागढीबाट ल्याउने गरी ठूलो परिमाणमा दशैंतिहार लक्षित सामान बुकिङ भएको र ती सामान ल्याउन नसक्ने स्थिति बनेको प्याकुरेलले बताए ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७९/८० एकै वर्ष ४ हजार २२० ओटा निजी र २८१ ओटा सार्वजनिक विद्युतीय गाडी आयात भएको तथ्यांक छ । गत आव २०८०/८१ मा निजीतर्फका १२ हजार १४७ ओटा र सार्वजनिकतर्फका ८८४ ओटा विद्युतीय गाडी आयात भएको देखिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।