एनसेल फाउन्डेसनद्वारा १९ परियोजनाका लागि आवेदन माग

Share News

काठमाडौं । एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरू गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन माग गरेको हो । 

यसअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागू गरिनेछन् । 

‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत सात प्रदेशमा कुल १९ ओटा परियोजना छानिने छन् । छनोटमा परेका प्रत्येक एक परियोजनालाई रु १० लाख अनुदान प्रदान गरिनेछ । यस परियोजनाका लागि कुल रु १ करोड ९० लाख अनुदान दिइनेछ ।  

एनसेल फाउन्डेसनले नाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले गरिरहेका काममा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात् परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको हो । 

'हामी समुदायस्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, 'नाइन्टिन फर नाइन्टिन पहलमार्फत हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथ दिने समुदायहरूलाई लाभ हुने खालको सामाजिक परियोजनाहरू कार्यन्वयन गर्न प्रतिवद्ध छौं ।'

परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइटमा गई ‘एप्लाई फर ग्रान्ट’मा क्लिक गरेर आवेदन दिन सक्छन् ।

गत वर्ष १८औं वार्षिकोत्सवको अवसरमा शुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजनाहरू प्रदेशस्तरमा सञ्चालनमा छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।