जापानमा आमचुनाव : मतदान सम्पन्न, सत्तारुढ गठबन्धनले बहुमत गुमाउने प्रक्षेपण !

लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का महासचिव हिरोशी मोरियामा जापानको टोकियोमा आइतवार सम्पन्न तल्लो सदन चुनावको प्रारम्भिक नतिजाबारे मिडियासँग कुरा गर्दै। तस्वीर : रासस/एपी

Share News

टोकियो (जापान) । जापानमा आमचुनावअन्तर्गत आज मतदान सम्पन्न भएको छ । त्यहाँ तल्लो सदनका ४६५ सिटका लागि मतदान भएको हो । 

यो चुनावले प्रधानमन्त्री शिगेरु इशिबाको राजनीतिक भविष्य तय गर्नेछ । उनले प्रधानमन्त्रीमा नियुक्त भएको ९ दिनमै (अक्टुबर ९ मा) आफ्नो राजनीतिक भविष्य दाउमा राख्दै ‘अर्ली इलेक्सन’को घोषणा गरेका थिए । 

बढ्दो मुद्रास्फीति र पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रधानमन्त्रीको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले बहुमत गुमाउन सक्ने एकथरिको आँकलन गरिएको छ । 

चुनावअघिका सर्वेक्षणले पनि एलडीपीले बहुमत गुमाउने प्रक्षेपण गरेका छन् । अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार एक सर्वेक्षणले उनको दलले ५० सिट गुमाउन सक्ने देखाएको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री इशिबाले चुनावअघि मुद्रास्फीतिको नकारात्मक प्रभाव कम गर्ने, सुरक्षा खतराहरूविरुद्ध देशको प्रतिरक्षालाई बलियो बनाउने लगायतका वाचा गरेकाले उनको पार्टीको मत नघट्ने अर्काथरिको भनाइ छ । 

यसअघि एलडीपीको संसद्मा स्पष्ट बहुमत थियो । यसअघिको निर्वाचनमा एलडीपीले संसद्को तल्लो सदनमा २४७ सिट जितेको थियो । सदनमा बहुमतका लागि २३३ सिट आवश्यक पर्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।