काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एफपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एफपीओ विक्री गर्न गत असोज २९ गते अनुमति दिएको हो ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साबिकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी बनेको संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम पूँजी संरचना कायम हुने गरी एफपीओ विक्री गर्न लागेको हो ।
कम्पनीका अनुसार संस्थापकतर्फ ६९ दशमलव ४८ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ५२ प्रतिशत शेयर संरचना कायम हुने गरी अपुग रकम ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपीओ विक्री गर्न लागिएको हो । यो एफपीओ छिटो अवधि कात्तिक २० गतेसम्म विक्रीमा रहनेछ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक २६ गतेसम्मको मिति तय गरिएको छ । तर, धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता ९०० रुपैयाँभन्दा बढी मूल्य कायम रहेको कम्पनीले १०० रुपैयाँमै एफपीओ विक्री गर्ने भएकाले पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने निश्चित छ ।
यसर्थ, कम्पनीको एफपीओ छिटो अवधि कात्तिक २० गतेसम्म मात्र विक्रीमा रहनेछ । खरीदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको एफपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले एफपीओ निष्कासनमा लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले इक्रा एनपी इस्युअर डबल बि माइनस रेटिङ प्रदान गरेको छ । यस रेटिङले वित्तीय दायित्व वहन गर्ने क्षमता कम्पनीको मध्यम स्तरको रहन्छ भन्ने संकेत गर्दछ । १ अर्ब २० करोड अधिकृत पूँजी रहेको यस कम्पनीको जारी पूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख ६ हजार रुपैयाँ छ ।
एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ कायम हुनेछ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३० पैसा छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ । सो अवधिसम्म कम्पनीको सञ्चित नाफा भने ३ करोड ५४ लाख रुपैयाँभन्दा बढी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।