फाइनान्स कम्पनीको खराब कर्जा बढ्दो, जानकी फाइनान्सको ३४ प्रतिशत पुग्यो

Share News

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेका फाइनान्स कम्पनीको खराब कर्जा बढ्दो छ । १५ कम्पनीले प्रकाशित गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी जानकी फाइनान्सको रहेको छ । पहिलो त्रैमासमा यस कम्पनीको खराब कर्जा ३४ दशमलव ६४ प्रतिशत छ । गत आवको पहिलो त्रैमासमा यस कम्पनीको यो कर्जा १७ दशमलव ६ प्रतिशत थियो । 

१५ कम्पनीहरू मध्ये तीन कम्पनीको खराब कर्जा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ भने बाँकी सबै कम्पनीको बढेको हो । 

बेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स र बेष्ट फाइनान्सको खराब कर्जा गत आवको तुलनामा चालू आवमा घटेको हो । बेष्ट फाइनान्सको खराब कर्जा गत आवको पहिलो त्रैमासमा ५ दशमलव ४९ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा ३ दशलमव ९८ प्रतिशतमा झरेको छ । त्यस्तै प्रोग्रेशिभ फाइनान्सको गत आवमा १२ दशमलव ४५ प्रतिशत रहेकोमा चालू आवमा ७ दशमलव ४७ प्रतिशत र नेपाल फाइनान्सको गत आवमा ११ दशमलव ७५ प्रतिशत रहेकोमा चालू आवमा १० दशमलव ३६ प्रतिशत रहेको हो । 

धेरै खराब कर्जा हुनेमा समृद्धि फाइनान्सको २३ दशमलव ४७ प्रतिशत रहेको छ । यस कम्पनीको यस्तो कर्जा गत आवको पहिलो त्रैमासमा ४ दशमलव ७९ प्रतिशत मात्रै थियो । पोखरा फाइनान्सको १४ दशमलव ४४ प्रतिशत, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको १३ दशमलव ५६ प्रतिशत र गार्खाज फाइनान्सको १३ दशमलव ४५ प्रतिशत रहेको छ । 

त्यस्तै सेन्ट्रल फाइनान्सको खराब कर्जा ८ दशमलव ७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८ दशमलव ५८ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ४ दशमलव ९७ प्रतिशत, गुडवील फाइनान्सको ४ दशमलव ९१ प्रतिशत, आइसिएफसि फाइनान्सको ३ दशमलव ६६ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३ दशमलव १९ प्रतिशत रहेको छ । यी १५ कम्पनीमध्ये सबैभन्दा कम खराब कर्जा भएको मञ्जुश्री फाइनान्सको ३ दशमलव १२ प्रतिशत रहेको छ । 

कम्पनीहरूको खराब कर्जा अनुपात वृद्धि हुनुको मुख्य कारण ऋणीले समयमै कर्जाको सावाँब्याज भुक्तानी नगर्नु हो । खराब कर्जा बढेमा बैंक तथा वित्तीय संस्थाहरूले लगानीकर्ताको विश्वास पनि गुमाउने सम्भावना रहन्छ । कर्जा लगानीमा व्यवस्थापन पक्ष कमजोर भएको पनि संकेत गर्छ । खराब कर्जा ५ प्रतिशत वा बढी पुगेमा बैंक तथा वित्तीय संस्थाहरूले नाफा गरेकै भए पनि लगानीकर्तालाई लाभांश वितरण गर्न पाउँदैनन् । सोही कारण कम्पनीहरूको खराब कर्जा जति न्यून भयो त्यतिनै राम्रो मानिन्छ । लगानीकर्ताले पनि बैंक तथा वित्तीय संस्थाको शेयरमा खरीद गर्नुअघि खराब कर्जा अनुपातलाई विशेष ध्यान दिन अत्यन्तै महत्त्वपूर्ण हुन्छ । 

तर पछिल्लो समय लगानीकर्ताको रोजाईमा भने फाइनान्स कम्पनीहरूको शेयर मूल्य पर्दछ । यस समूहका अधिकांश कम्पनीहरूको शेयर सख्या न्यून छ । सोही कारण पनि वित्त समूहका कम्पनीको शेयर सख्या कम भएकाले आपूर्ति कम हुँदा मूल्य बढिरहेको लगानीकर्ता बताउँछन् । शेयर खरीद गर्नु पूर्व कम्पनीको समग्र वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्ने धितोपत्र विज्ञ बताउँछन् । 

कम्पनीको नाम निष्क्रिय कर्जा (खराब कर्जा) प्रतिशतमा   
  गत आवको पहिलो त्रैमास  चालू आवको पहिलो त्रैमास 
जानकी फाइनान्स 17.6 34.64
समृद्धि फाइनान्स 4.79 23.47
पोखरा फाइनान्स 4.13 14.44
गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स 4.72 13.56
गोर्खाज फाइनान्स 9.89 13.45
नेपाल फाइनान्स 11.75 10.36
सेन्ट्रल फाइनान्स 7.43 8.71
रिलायन्स फाइनान्स 4.96 8.58
प्राग्रेशिभ फाइनान्स 12.45 7.47
मल्टीपर्पस फाइनान्स 1.22 4.97
गुडवील फाइनान्स 3.97 4.91
वेष्ट फाइनान्स 5.49 3.98
आइसिएफसि फाइनानस 3.23 3.66
श्री इन्भेष्टमेन्ट फाइनान्स 1.2 3.19
मञ्जुश्री फाइनान्स 2.85 3.12
स्रोत : कम्पनीले प्रकाशित चालू आवको पहिलो त्रैमास    

के हो खराब कर्जा ?

खराब कर्जा (नन पर्फमिङ लोन वा एनपीएल) बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय प्रदर्शन परीक्षण गर्ने महत्त्वपूर्ण औजार हो । कुनै पनि ऋणीले निश्चित समयसम्म आफ्नो ऋणको सावाँ तथा ब्याजको निर्धारित भुक्तानी गरेको छैन भने त्यस्तो ऋण वा कर्जालाई खराब कर्जा भनिन्छ ।

 बैंक तथा वित्तीय संस्थाले निश्चित समय अवधिका लागि समय समयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने शर्तमा ऋणीहरूलाई कर्जा दिएका हुन्छन् । यदि, तोकिएको समयमा ऋणको सावाँ वा ब्याज भुक्तानी पाउन सकेनन् भने बैंकहरूले त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गर्छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।