अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमन प्रभाव : सुनको मूल्य घट्यो, डलरमा कीर्तिमान

Share News

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनको प्रभाव डलर र सुनको मूल्यमा परेकाे छ । आज सुनको मूल्य घटेको छ भने डलर हालसम्मकै उच्च कायम छ । 

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६५७ दशमलव ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा १० दशमलव ५१ अमेरिकी डलरले कमी हो । यसको प्रभाव नेपाली सुन बजारमा पनि पर्यो । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन ४ हजार रुपैयाँले घटेको छ ।

त्यस्तै, डलरको मूल्यले कीर्तिमान कायम राख्दा अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ५६ पैसा र विक्रीदर १३५ रुपैयाँ १६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधवार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ २८ पैसा र विक्रीदर १३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । 

अन्तरराष्ट्रिय बजारमा भने डलरको मूल्य गत जुलाई ३ (गत असार १९) यताकै उच्च रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सुनको मूल्य घट्नु र डलरको मूल्य बढ्नुको मुख्य कारक अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनलाई मानिएको छ । रोयटर्समा प्रकाशित समाचार पनि ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै डलरको मूल्य बढेको उल्लेख छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य पनि सुनको मूल्य घट्नुको कारक ट्रम्पको पुनरागमनलाई मान्छन् । 'ट्रम्पले अमेरिकाको अर्थतन्त्रमा अवलम्बन गर्ने नीतिहरूले सुनको मूल्यमा प्रभाव पार्ने देखिन्छ । जसको कारण डलर अझै बलियो बन्दै जाने देखिन्छ भने सुनको मूल्यमा गिरावट आउने देखिन्छ,' उनले भने । 

सुनको मूल्य घट्नुमा ट्रम्पको पुनरागमन मुख्य कारण भए पनि यसमा अरु कारणले पनि प्रभाव पारेको उनले बताए । यसको अर्को कारण सुन बजारमा रहेको सेलिङ प्रेसर पनि रहेको उनको भनाइ छ । 'भाउ बढ्नासाथ साना लगानीकर्ताले फाइदाको लागि सुन विक्री गरिरहेका थिए, जसको कारण सुनको मूल्य कम भएको थियो,' उनले भने । 

यसअघि सुनको मूल्य तोलाको १ लाख ८० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएको थियो ।  

सन् २०१६ नोभेम्बर ८ मा पहिलोपटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्प अघिल्लो (४ वर्षअघिको) निर्वाचनमा भने जो बाइडेनसँग पराजित भएका थिए । आफ्नो पहिलो कार्यकाल सकिएको ४ वर्षपछि उनी फेरि त्यहीँ पदमा पुगेका छन् । 

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्व राजनीतिमा ‘उथलपुथल’हुने आकलन गरिएको छ । उनले चुनावमा बोलेका कुरा पूरा गरे विश्वभर परिवर्तन आउनेछ ।  उनले आफू राष्ट्रपतिमा निर्वाचित भए युक्रेनलाई अमेरिकाले दिइरहेको सहयोग रोक्ने बताएका थिए । यसो गरेमा रुस-युक्रेन युद्धमा युक्रेन कमजोर बन्न सक्छ । 

चुनावका क्रममा ट्रम्पले गाजामाथि 'धावा बोल्ने' बताएका थिए । यसो गरेमा इजरायल-गाजा युद्ध चर्किन सक्छ । उनको कार्यकालमा चीनसँग व्यापार युद्ध चर्किने आकलन गरिएको छ । उनको यसअघिको कार्यकालमा चीनसँग व्यापार युद्ध भएको थियो । 

यो पटकको चुनावमा उनलाई साना व्यवसायीले पनि भोट दिएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कर घटाएका थिए । यही कारण उनले त्यहाँका साना व्यवसायीको भोट पाएको कतिपयको आकलन छ ।

कर घटाए अमेरिकामा लगानी बढ्ने सम्भावना छ । बाहिरको लगानी देशमा फिर्ता जाने कतिपयको आकलन छ । यस्तै आईएमएफ, युएन, नेटोमा अमेरिकाको लगानी घट्न सक्ने सम्भावना रहेको जानकार बताउँछन् । उनले आगामी कार्यकाल कसरी अगाडि लैजानेछन् भन्नेबारे राष्ट्रपतिमा शपथ (आगामी जनवरी २०) अघि नै स्पष्ट हुनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।