शेयरको ओटीसी कारोबारमा सम्भावित कर छली छानबिन गर्दै सरकार

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सञ्चालन गरिरहेको ओभर द काउन्टर (ओटीसी) बजारमा पूँजीगत लाभकरको सम्भावित छलीबारे आन्तरिक राजस्व विभागले अनुसन्धान अघि बढाएको छ ।  क्रेता र विक्रेताको आपसी समझदारीमा निर्धारण हुने मूल्यमा ओटीसी बजारमा शेयर कारोबार हुने भएकाले वास्तविक मूल्यअनुसार नै पूँजीगत लाभकर विक्रेताले तिरेको सुनिश्चित गर्न गाह्रो हुने नेप्सेले बताएको छ । 

विभागका महानिर्देशक रामप्रसाद आचार्यले नेप्सेमा सूचीकृत नभएका कम्पनीको धितोपत्र खरीदविक्री गरेका करदाताले उक्त व्यवसायबाट गरेको आम्दानीबापत कर दाखिला गरे/नगरेको यकीन गर्न लागिएको जानकारी दिए । उनले ओटीसी बजारमा भएको कारोबारको वास्तविक लेखाजोखा राम्रोसँग नभएको गुनासो प्राप्त भएकाले त्यसको यकीन गर्न लागिएको स्पष्ट पारे । 

नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली भने ओटीसी बजारमा कारोबार हुने कम्पनीको शेयर मूल्य कारोबारका लागि तोक्दा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थभन्दा कम नहुने गरी तोक्नुपर्ने व्यवस्था रहेको बताउँछन् । यस्तो कानूनी व्यवस्थाका कारण थोरै मूल्यमा शेयर कारोबार भएको देखाएर कर छल्ने सम्भावना न्यून हुने तर त्यस्तो प्रयत्न नै हुँदैन भनेर ठोकुवा गर्न नसकिने उनले बताए ।

उनका अनुसार खरीदकर्ता  र विक्रीकर्ताबीच उक्त  व्यवस्थाबमोजिम मूल्य कबोल गरी त्यसबापतको कर तिरेको बिल नेप्सेमा पेश गरेपछि मात्र नेप्सेले कारोबारका लागि अनुमति दिने गरेको छ । आयकर ऐनमा भएको व्यवस्थाबमोजिम ओटीसी मार्केटमा कारोबार गर्ने स्वदेशी व्यक्तिले नाफामा कारोबार गरेको खण्डमा १० प्रतिशत र स्वदेशी संस्थाले १५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्र्ने हुन्छ । कारोबारमा विदेशी व्यक्ति तथा संस्था भएको खण्डमा २५ प्रतिशत पूँजीगत लाभकर ओटीसी कारोबारमा तिर्नुपर्ने व्यवस्था छ ।

पराजुलीले हालसम्मको ओटीसी कारोबारमा प्रत्यक्ष रूपमा कर छलेको नदेखिए पनि आन्तरिक राजस्व विभागको अनुसन्धानमा नेप्सेले पूर्ण रूपमा सहयोग गर्ने बताए । नेप्सेले ओटीसी मार्केटको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको छ ।कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीको शेयरको कारोबार २०७२ माघ १८ गतेदेखि ओटीसी बजारमा हुँदै आएको छ । 

नेप्सेका अनुसार ओटीसी बजारमा हालसम्म जम्मा २४४ ओटा कम्पनी दर्ता भई कारोबार भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ओटीसी बजारमा ५ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको ३ करोड ६५ लाख ६५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको तथ्यांक नेप्सेले सार्वजनिक गरेको छ ।  गतवर्ष सबैभन्दा बढी मूल्यमा वल्र्डलिंक कम्युनिकेशन्सको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार वल्र्डलिंकको १३ हजार ३९२ कित्ता शेयर कारोबार भएको हो । यसपछि काठमाडौं फरेस्ट्री कलेजको २७७ कित्ता र १ हजार ८५ रुपैयाँ ८५ पैसामा ५०० कित्ता शेयर यो बजारमा कारोबार भएको देखिन्छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।