हकप्रद शेयर निष्कासन गर्न लागेका चार जलविद्युत् कम्पनी खुद नोक्सानीमा

Share News

काठमाडौं  । हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका अधिकांश जलविद्युत् कम्पनी अहिले नाफामा छन् ।बोर्डमा १९ कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति माग्दै आवेदन दर्ता गराएका छन् । तीमध्ये १२ ओटा जलविद्युुत् कम्पनी छन् । यी एक दर्जन जलविद्युत् कम्पनीमध्ये आठओटा नाफामा र बाँकी खुद घाटामा छन् । 

हकप्रद शेयर निष्कासन गर्न लागेका कम्पनी नाफामै हुनुपर्ने नियामकीय व्यवस्था नरहेको बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले बताए । ‘तर, कम्पनीको वित्तीय अवस्था पनि महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘शेयरधनीले हकप्रद शेयर खरीद गर्दा स्वविवेक प्रयोग गर्न सक्छन् ।’ उनका अनुसार धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीले हकप्रद शेयर खरीदका लागि सम्बद्ध शेयरधनीलाई दबाब दिन पाउँदैन ।

हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका १२ जलविद्युत् कम्पनीमध्ये १० ओटाले शतप्रतिशत, एउटाले ६५ प्रतिशत र अर्को एउटाले ५० प्रतिशत हकप्रद बेच्न बोर्डमा निवेदन दर्ता गराएको छ । अपरिष्कृत वित्तीय विवरणका आधारमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन १२ लाख रुपैयाँभन्दा बढी, जोशी हाइड्रोपावर ४८ लाख रुपैयाँभन्दा बढी, शिवश्री हाइड्रोपावर १ करोड २३ लाख रुपैयाँभन्दा बढी र छ्याङ्दी हाइड्रोपावर ८ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।

जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको हो । खुद नोक्सानीमा रहेका अरू तीन कम्पनी शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा छन् । 

खुद नाफामा रहेका ८ कम्पनीमध्ये पिपुल्स पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेका खुद नाफामा रहेका सात कम्पनीमा तेह्रथुम पावर, रिभर फल्स पावर, ङादी ग्रूप, दोर्दी खोला जलविद्युत्, बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र बाराही हाइड्रोपावर छन् ।

पछिल्लो समय बोर्डले जलविद्युत् कम्पनीहरूले ऋण तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने व्यवस्था गरेपछि यो क्षेत्रका कम्पनीमा हकप्रद शेयर जारी गर्ने प्रवृत्ति बढेको बोर्डले बताएको छ ।

विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीलाई नयाँ आयोजना निर्माण गर्नमात्र हकप्रद शेयर निष्कासनका लागि अनुमति दिँदै आएकोमा पछिल्लो समय बैंकको ऋण तिर्नका लागि समेत हकप्रद निष्कासन गर्न दिने व्यवस्था गरेको हो । बोर्डमा हकप्रद शेयर निष्कासनका लागि आवेदन दिनुपूर्व जलविद्युत् कम्पनीहरूले विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनैपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ ।

कुनै कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेमा कारण समेत खुलाई साधारणसभाबाट हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नुपर्ने व्यवस्था रहेको आचार्यले जानकारी दिए । साधारणसभाबाट हकप्रद शेयर निष्कासन गर्ने निर्णय पारित भएमा उक्त निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने र साधारणसभाबाट पारित भएको २ महीनाभित्र बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था रहेको आचार्यले बताए ।

हकप्रद शेयर निष्कासनका लागि निवेदन दिएका कम्पनीले सञ्चालकलगायत आधारभूत शेयरधनीले समेत लिनुपर्ने हकप्रद शेयर बराबरको रकम जम्मा गरिसकेपछि मात्र सर्वसाधारण समूहका शेयरधनीका लागि हकप्रद शेयर विक्री खुला गर्नुपर्ने कानूनी व्यवस्था छ ।

नियामक निकायको निर्देशनबमोजिम पूँजी वृद्धि गर्नुपर्नेबाहेक अन्य अवस्थामा कम्पनीले १ आर्थिक वर्षमा एकपटक मात्र हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था छ । हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम भइरहेको अवस्थामा ऋण तिर्न जलविद्युत् कम्पनीहरूले हकप्रद शेयर जारी गर्नुलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको अवस्था छ । 

पुराना लगानीकर्ता डम्बरुवल्लभ घिमिरे जलविद्युत् कम्पनीहरूले आम लगानीकर्तामा हकप्रदप्रति आकर्षण बढाउने खालको रणनीतिका साथ हकप्रद शेयर निष्कासन गर्नुपर्ने बताउँछन् । 

आम लगानीकर्ताको लगानी जोखिममा पर्न नदिने गरी जलविद्युत् कम्पनीका संस्थापकहरू जिम्मेवार बन्नुपर्ने सुझावसमेत घिमिरेले दिए ।

दोस्रो बजारमा सर्वाधिक संख्यामा रहेका जलविद्युत् क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण राम्रो भए मात्र प्राथमिक बजारमा आउने हकप्रद शेयरमा आकर्षण बढ्ने घिमिरेको भनाइ छ ।

बोर्डका अनुसार जलविद्युत् कम्पनीबाहेक तीन जीवन बीमा कम्पनी र चार निर्जीवन कम्पनीले पनि हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएका छन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।