सुनको भन्सार महशुल घट्यो : सुन २० बाट १० तथा चाँदीको १५ बाट १० प्रतिशतमा झारियो

Share News

काठमाडौं । भारतको भन्दा उच्च भन्सार दरका कारण उताबाट नेपालमा सुन तस्करी भएको अनुमानबीच सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल दर घटाएको छ । नेपालीले विवाहलगायत कामका लागि आवश्यक पर्ने सुनका गहना पनि भारतमै बनाएर ल्याउन थालेकाले स्वदेशी गहना पसलको व्यापारमा असर परेको र भारतबाट नेपालतर्फ सुन तस्करी बढेको गुनासो सुनचाँदी व्यवसायीको रहँदै आएको थियो । 

हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि अर्थ मन्त्रालयले सुन आयातमा लाग्ने भन्सार महशुल दर २० बाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो । चाँदी आयातमा भन्सार दर १५ प्रतिशत रहेकोमा १० प्रतिशतमा झारिएको छ ।

यससम्बन्धी मन्त्रिपरिषद्को निर्णय विभागमा आइपुगेको र नयाँ दर कार्यान्वयनमा आइसकेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिए । उनका अनुसार भारत र नेपालबीच असमान रहेको त्यस्तो दरलाई समायोजन गरिएको छ । ‘नयाँ भन्सार दर प्राप्त भएको छ,’ उनले आर्थिक अभियानसँग भने, ‘अब नयाँ दर लागू हुनेछ । सबै मातहतका कार्यालयलाई पत्राचार गर्दै छु ।’ उनका अनुसार तस्कारी, चोरी पैठारीलाई यसले निरुत्साहित गर्ने सरकारको अपेक्षा छ । 

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको बजेटमार्फत १५ प्रतिशत रहेको सुनको भन्सार महशुल दर २० प्रतिशत पुर्याएका थिए । यही बेला भारत सरकारले भने आफ्नो वार्षिक बजेटमार्फत भन्सार दर घटाएको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले नेपाली बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।

भन्सार विभागका अनुसार चालू आवको पहिलो ४ चार महीनामा १ लाख ३२ हजार ५६४ ग्राम (१३२ दशमलव ५६४ किलो) सुन आयात भएको देखिन्छ ।

गत आवको सोही अवधिमा १० लाख ५०० ग्राम (१००० दशमलव ५ किलो) सुन आयात भएको थियो । सुनको गहना आयात भने पहिलो चौमासमा केही वृद्धि भएको छ । अघिल्लो आवको कात्तिकसम्म ११ करोड ३२ लाख रुपैयाँ बराबर गहना आयात भएकोमा यस वर्ष बढेर १९ करोड ८ लाख रुपैयाँ पुगेको देखिन्छ । सुनको आयातबाट उठ्ने राजस्व गतवर्षको पहिलो ४ महीनाको तुलनामा ठूलो मात्रामा गिरावट आएपछि भन्सार दर समायोजन गर्न सरकारलाई ठूलो दबाब परेका कारण तत्कालै निर्णय लिइएको अर्थ मन्त्रालयस्थित उच्च स्रोतले बतायो । 

सुनचाँदी व्यवसायीले पनि सरकारलाई भन्सार दर घटाउन दबाब दिँदै आएका थिए । उनीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर भारतको बराबर भन्सार दर बनाउन आग्रह गरेका थिए । 

काँचो सुन आयातमा भारी गिरावट आउनुमा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दा देशमा खपत कम हुनु र अर्कातर्फ मुलुकभित्र कर वृद्धि हुनु मुख्य कारण रहेको व्यवसायीले बताउँदै आएका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्यले सरकारले सुनचाँदीको भन्सार दर घटाउनु सकारात्मक भएको बताए । उनका अनुसार यसले पछिल्लो समय भारतबाट भइरहेको अवैध तस्करी रोकिन मद्दत पुर्याउनेछ । 

महासंघका वरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्यले पनि सरकारको पछिल्लो कदम स्वागतयोग्य रहेको बताए । उनका अनुसार अहिले भारतको सीमावर्ती बजार र नेपाली बजारबीच एक तोला सुनको मूल्यमा २० हजार रुपैयाँसम्म अन्तर (भारतमा सस्तो) पर्ने गरेको थियो ।

विगतमा समान रहेको सुनको भन्सार महशुल भारतमा ६ प्रतिशत हुँदा नेपालमा २० प्रतिशत पुग्नु असान्दर्भिक थियो । महशुल वृद्धि सुनचाँदी बजारमा चाडपर्वबाहेकको समयमा ठूलो असर पारेकोमा भन्सार दर समायोजनले अब सुनचाँदी व्यवसायलाई ठूलो राहत पुग्ने व्यवसायीको भनाइ छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।