काठमाडौं । साढे २ महीनादेखि भारत निकासी हुन नसकेको नेपाली जुत्ता ‘गोल्डस्टार’ अब आंशिक रूपमा भए पनि निर्यातको बाटो खुलेको नेपाल–भारत उद्योग वाणिज्य संघका एक उच्च पदाधिकारीले बताएका छन् ।
किरण सुज म्यानुफ्याक्चरर्स प्रालिले उत्पादन गर्ने उक्त जुत्ता नेपाल र भारतमा लोकप्रिय छन् । ठूलो संख्यामा यसका उत्पादन भारत निर्यात हुँदै आएको छ । तर, विगत साढे २ महीनादेखि भारतले नयाँ गुणस्तर प्रमाणपत्र दिन ढिलाइ गर्दै यसको निर्यातमा अवरोध गर्दै आएको थियो ।
‘गोल्डस्टार उत्पादन गर्ने विभिन्न कारखानामध्ये एक कारखानाको उत्पादनलाई शुक्रवार भारतले ब्युरो अफ स्ट्यान्डर्ड (बीआईएस) प्रमाणपत्र दिएको छ,’ नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल केसीले आर्थिक अभियानसँग भने ।
भारतले जुत्ता, सिमेन्ट, प्लाइउड, जस्तापाता र सेनिटरी प्याडजस्ता सामान भारतीय बजारमा विक्री वितरण गर्न बीआईएस प्रमाणपत्र अनिवार्य गरेको छ । तर, त्यस्ता प्रमाणपत्र दिन वा नवीकरण गर्न ढिलाइ गरिदिनाले नेपालका उत्पादनहरूको भारत निर्यात प्रभावित भएको छ ।
केसीका अनुसार भारतीय ब्युरो अफ स्ट्यान्डर्डका अधिकारीहरूले किरण सुजको कारखाना निरीक्षण गरेर एउटा कारखानाको उत्पादनलाई बीआईएस प्रमाणपत्र दिएको हो । ‘त्यसैले अब उक्त कारखानाका उत्पादन भारतमा विक्री हुने बाटो खुलेको छ,’ उनले भने । किरण सुज नेपाल–भारत उद्योग संघको सदस्य छ । त्यसैले संघले गोल्डस्टारको निर्यात अवरोध हटाउन पहल गरेको केसीले जानकारी दिए ।
किरण सुजका कार्यकारी निर्देशक विदुषी राणाले यसबारे पछि मात्र विस्तारमा जानकारी गराउने बताइन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले पनि भारतीय प्राविधिक टोली गोल्डस्टार जुत्ताको कारखाना निरीक्षण गर्न केही समयअघि नेपाल आएको जानकारी गराए । यद्यपि बीआईएस पाइसकेको विषयमा जानकारी नभएको उनले बताए ।
किरण सुजले गोल्डस्टारका विभिन्न प्रकारका जुत्तादेखि हाथी ब्रान्डमा हवाई चप्पल उत्पादन गरी विक्री वितरण गर्छ । कम्पनीका अधिकांश उत्पादन भारत निर्यात हुने गर्छ ।
कम्पनीको वेबसाइटका अनुसार उसका कारखानामा ३ हजारभन्दा बढी कामदार/कर्मचारी छन् र काठमाडौंको विभिन्न भागका कारखाना छन् । कम्पनी भैरहवा विशेष आर्थिक क्षेत्रमा कारखाना स्थापना गरी जुत्ता, चप्पल उत्पादन गर्ने योजनामा रहेको छ । सरकारी अधिकारीहरूले भारतले बीआईएसमा गरेको कडाइलाई नेपालले विभिन्न नौ प्रकारका विदेशी दुग्ध पदार्थ आयातमा गरेको प्रतिबन्धसँग जोडेका छन् । विभिन्न खाले दुग्ध पदार्थ आयातमा लगाएको प्रतिबन्धले भारतीय दुग्ध पदार्थको आयात प्रभावित भएको छ ।
सरकारी अधिकारीहरूले दुग्ध पदार्थमा लगाइएको प्रतिबन्ध फुकाउन छलफल भएको बताएका छन् ।
बीआईएसमा कडाइले गोल्डस्टारको निर्यातमा समस्या भए पनि चालू आर्थिक वर्ष (आव) को पहिलो ४ महीनामा जुत्ताको भारत निर्यात भने बढेको देखिएको छ । गोल्डस्टारबाहेक अन्य कम्पनीका जुत्ता पनि भारत निर्यात हुन्छन् ।
भन्सार विभागका अनुसार चालू आवको पहिलो ४ महीनामा १२ लाख ७६ हजार जोर जुत्ता भारत निर्यात भएको छ । गत आवको सोही अवधिमा ८ लाख ६९ हजार जोर जुत्ता भारत निर्यात भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।