काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार (आज) पनि बजार घटेर बन्द भएको छ । यससँगै नेप्से १२ दशमलव ८४ अंक घटेर २ हजार ६७६ दशमलव १५ विन्दुमा झरेको हो ।
आज कारोबार रकमसमेत घटेको छ । अघिल्लो कारोबार दिन रू. ७ अर्ब ४६ करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब ६२ करोडमा झरेको हो । आजसँगै बजार लगातार चार कारोबार दिन घटेको छ । चार दिनमा बजार ३ दशमलव ६ प्रतिशत घटेको छ ।
बजार निरन्तरजसो घटेपछि नेप्से सूचक अहिले २६ सयको लाइनमा झरेको छ । यसअघि २७८० विन्दु पार गर्न नसकेपछि बजारको ओरालो यात्रा शुरु भएको हो । उक्त विन्दुबाट बजार माथि जान नसकेपछि पुन घट्छ भन्ने मानसिकता कायम हुँदा बजारमा विक्रेता हाबी भएको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३४ प्रतिशत घटेको छ ।
आज ३१७ धितोपत्रको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर ६२ हजार ७५८ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी इमर्जिङ्ग नेपालको शेयर मूल्य ८ दशमलव ७६ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३१६ पुगेको हो ।
सोमवार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १४१ दशमलव १० मा झरेको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. ३५ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १८२ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरी छ । यस कम्पनीको रू. २७ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसका कारण सर्वाधिक शेयर कारोबार भएको जानकार बताउँछन् ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये जीवन बीमा समूहको सूचक सबैभन्दा बढी १ दशमलव ६७ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव ०६ प्रतिशत वृद्धि भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।