काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १६ विकास बैंकहरूमध्ये हालसम्म आठ बैंकले गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्नेमा मितेरी डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक छन् ।
यीमध्ये कामना सेवा विकास बैंकले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गरेर नेप्सेमा सूचीकृत समेत गराइसकेको छ भने नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइसकेको छ । यस बैंकले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) दिएको हो ।
त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेको छ । यस बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि बैंकले पुस १९ गते साधारण सभा बोलाएको छ ।
यस बैंकले गत वर्षको तुलनामा यस वर्ष लाभांशदर घटाएको छ । अघिल्लो आवको मुनाफाबाट गत वर्ष बैंकले १० दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश गरेर कुल ११ दशमलव ५ प्रतिशत लाभांश दिएको थियो ।
मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनार्थ पुस १६ देखि २७ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यस आधारमा लाभांश पाउनका लागि पुस १४ गतेसम्म शेयर खरीद गर्नुपर्ने हुन्छ ।
यस कम्पनीले गत आवको मुनाफाबाट ९ दशमलव ५१ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि बैंकले पुस २७ गते साधारण सभा बोलाएको छ । यस बैंकले गत वर्ष ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो ।
यस्तै लुम्बिनी, महालक्ष्मी, ग्रीन, गरिमा र सांग्रिला डेभलपमेन्ट बैंकले साधारण सभाको मिति हालसम्म तय गरेका छैनन् ।
लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशदर गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गरिमा विकास बैंकले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश दिएकोमा यस वर्ष बैंकले ५ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको हो ।
त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले गत वर्ष ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश गरी कुल ५ दशमलव २६३ प्रतिशत लाभांश दिएकोमा यस वर्ष ३ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १९ प्रतिशत नगद लाभांश गरी कुल ३ दशमलव ८४ प्रतिशत लाभांश घोषणा गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी लुम्बिनी विकास बैंकले गत वर्ष ४ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ५ प्रतिशत लाभांश दिएकोमा यस वर्ष ३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
महालक्ष्मी विकास बैंकको लाभांशदर भने केही बढेको छ । यस बैंकले गत वर्ष ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ३ प्रतिशत बोनस शेयर ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकले गत वर्ष कुनै पनि लाभांश नदिएकोमा यस वर्ष ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको नाम | २०८०/८१ को लाभांश % | कुल लाभांश % | २०७९/८० को लाभांश % | कुल लाभांश % | ||
बोनस शेयर | नगद लाभांश | बोनस शेयर | नगद लाभांश | |||
मितेरी डेभलपमेन्ट बैंक | ९.५१ | ०.५ | १०.०१ | ९.५ | ०.५ | १० |
कामना सेवा विकास बैंक | ७ | ५ | १२ | - | - | |
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक | ३ | ५ | ८ | १०.५ | ०.५५ | ११.०५ |
लुम्बिनी विकास बैंक | ३ | ४ | ७ | ४ | ४.५ | ८.५ |
महालक्ष्मी विकास बैंक | ३ | ४ | ७ | ६.४ | ६.४ | |
ग्रीन डेभलपमेन्ट बैंक | ५.७५ | ०.३ | ६.०५ | - | - | |
गरिमा विकास बैंक | ५ | ५ | ९.५ | ०.५ | १० | |
साग्रिला डेभलपमेन्ट बैंक | ३.६५ | ०.१९ | ३.८४ | ५ | ०.२६३ | ५.२६३ |
स्रोत : सम्बन्धित कम्पनीले प्रकाशित गरेको सूचनाबाट
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र सम्बन्धित बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
हालसम्म तीन विकास बैंकहरूले लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र ज्योति विकास बैंक छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।