१३.५३ अंक घटेको बजारमा तीन कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि

Share News

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । यससँगै नेप्से १३ दशमलव ५३ अंक घटेर २ हजार ५८३ दशमलव २९ विन्दुमा झरेको हो । आजसँगै नेप्से लगातार तीन कारोबार दिन घटेको छ ।

आज कारोबार रकमसमेत घटेको छ । अघिल्लो कारोबार दिन रू. ४ अर्ब ७६ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब ५१ करोड बराबरको भएको हो । 

पछिल्लो समय सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा, बुक क्लोज र साधारण सभा गरिरहँदा शेयर बजार भने निरन्तर घट्दो छ । सामान्यतया यस्तो समयमा बजार बढ्नुपर्ने हो । किनभने यतिबेला शेयर होल्ड गर्नेले छोटो समयभित्रै नै लाभांश पाउँछन् ।  

तर, बजार निरन्तर घटिरहेको छ । यसो त लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये अधिकांश कम्पनीको लाभांशदर अघिल्लो वर्षका तुलनामा यस वर्ष घटेको छ । यसकारण पनि लगानीकर्ता निरुत्साहित भएको लगानीकर्ताको भनाइ छ । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६० प्रतिशत, फ्लोट इनडेक्स शून्य दशमलव ६४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७३ प्रतिशत घटेको छ । 

आज ३१९ धितोपत्रको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर ५७ हजार ८६३ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्य सर्किट लेबलमा (१० प्रतिशतका दरले) वृद्धि भएको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर र न्यादी हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।

सपोर्ट लघुवित्तको शेयर मूल्य रू. ३ हजार ६६० दशमलव २०, बाराही हाइड्रोपावरको रू. ८३० दशमलव ५० र न्यादी हाइड्रोपावरको शेयर मूल्य रू. ३९३ दशमलव ८० पुगेको छ । 

आइतवार सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैकका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ४० प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९ मा झरेको छ । त्यसपछि सबैभन्दा बढी शेयर मूल्य घट्नेमा माया खोला हाइड्रोपावर कम्पनी छ । यस कम्पनीको शेयर मूल्य ६ दशमलव १२ प्रतिशत घटेर रू. ५०६ कायम भएको छ । 

आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा रिभर फल्स पावरले ओगटेको छ । यस कम्पनीको रू. २२ करोड बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जानकी फाइनान्स कम्पनी छ । यस कम्पनीको रू. १२ करोड ९९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये उत्पादन तथा  प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशलमव ५७ प्रतिशत वृद्धि भएको छ भने विकास बैंक समूहको सूचक सबैभन्दा बढी २ दशमलव ०५ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।