काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेडले नयाँ प्लान्ट लगाउन २ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । विद्युतीय केबल र कन्डक्टरहरू उत्पादन गर्दै आएको उक्त कम्पनीले नयाँ प्रकारको विद्युतीय तार उत्पादनका लागि प्लान्ट लगाई क्षमता विस्तारको तयारी गरेको बताएको छ ।
सन् १९७८ मा लुम्बिनी विद्युत् उद्योग प्रालिको नामबाट विद्युतीय सामग्री केवल र वायर उत्पादन गर्दै आएको उक्त कम्पनीले सन् २०२२ देखि लिटमस इन्डस्ट्रिजको नामबाट कारोबार शुरू गर्दै थप लगानी गर्दै आएको छ । उक्त उद्योगमा लगानी बढाउँदै क्षमता विस्तारको प्रक्रिया अघि बढाएको लिटमस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले जानकारी दिए ।
‘विद्युतीय तार बनाउने उक्त उद्योगमा नयाँ प्रकारको विद्युतीय तार उत्पादनको क्षमता बढाउन २ अर्ब रुपैयाँ लगानीसहित नयाँ प्लान्ट लगाउन लागेका छौं,’ गुप्ताले आर्थिक अभियानसँग भने, ‘अहिले धेरै प्रकारका विद्युतीय तारका सामग्री आयात भइरहेको छ । त्यसलाई प्रतिस्थापन गर्ने तथा नेपालमै बनाउने गरी क्षमता विस्तारमा लगानी गर्न लागिएको हो ।’
लिटमस इन्डस्ट्रिजबाट उत्पादित सामग्रीको ठूलो खपतकर्ता नेपाल विद्युत् प्राधिकरण रहेको उनको भनाइ छ । ‘विद्युत् प्रसारण तथा वितरण लाइनका लागि नेपाल विद्युत् प्राधिकरणले यसको उपयोग गर्दै आएको छ,’ गुप्ताले भने, ‘केबलिङ, वायरिङहरू घरायसी प्रयोजनका लागि अन्य खुद्रा तथा होलसेल प्रक्रियाबाट पनि विक्री गरिन्छ ।’
थप लगानीका लागि उद्योगले बैंकबाट कर्जा लिन खोजेको छ । २ अर्ब रुपैयाँको थप लगानी गर्ने योजना भए पनि उद्योगले कुल ४ अर्ब ९७ करोड ८० लाख रुपैयाँ लिने भनेर इन्फोमेरिक्स क्रेडिट रेटिङबाट उद्योगको अवस्था रेटिङ गराएको छ, जसमा पर्याप्त सूचना नदिएको भनेर असहयोगी वर्गमा राखेर कर्जा प्रवाहको जोखिमबारे केही भन्न नसकिने भनी इन्फोमेरिक्सले उल्लेख गरेको छ । कम्पनीले ४ अर्ब ४९ करोड रुपैयाँ छोटो अवधिको र १ अर्ब ४९ करोड रुपैयाँ लामो अवधिका लागि कर्जा लिने भनेर इन्फोमेरिक्सलाई रेटिङ गर्ने जिम्मा दिएका रेटिङ कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
उद्योगको वार्षिक उत्पादन क्षमता ११ हजार किलोमीटर एबीसी केबल, ६७ हजार ७५० किलोमीटर एसीएसआर कन्डक्टर, २ हजार किलोमीटर कनसेन्ट्रिक केबल, २५ लाख ३९ हजार ५७० क्वाइल हाउस वायरिङलगायत विभिन्न प्रकारका विद्युतीय तार, कन्डक्टर रहेको उल्लेख छ । उद्योगले यी उत्पादन ‘लिटमस केबल्स’ र ‘लोटस वायर’ ब्रान्डबाट आन्तरिक बजारमा विक्री गर्दै आएको छ ।
विद्युतीय वायर तथा केबल उत्पादनमा उद्योगको लामो अनुभव रहेको उक्त उद्योगले सन् १९९४ मा इनामेल बाइन्डिङ वायर उत्पादन गरेको थियो । त्यसको केही वर्षपछि सन् २००३ मा आईएसओ सर्टिफिकेटसमेत पाइसकेको उक्त उद्योगले भारतीय गुणस्तर चिह्न पाइसकेको छ । लिटमसले सन् २०२० देखि उद्योगको स्तरोन्नति गर्दै उत्पादन क्षमतासमेत बढाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।