महीनामा २१.३८ प्रतिशत बढ्यो अडलट कारोबार

Share News

काठमाडौं । पछिल्लो एक महीनामा अडलट कारोबार २१ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ । 

गत कात्तिकमा धितोपत्रको दोस्रो बजारमा कुल रू. २२ करोडभन्दा बढीको अडलट कारोबार भएकोमा मंसिरमा बढेर रू. २६ करोड ७६ लाखभन्दा बढी पुगेको छ ।

अडलट कारोबारसँगै कित्ता पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कात्तिकमा कुल २ लाख ७० हजार कित्ता शेयर अडलटमा कारोबारमा भएकोमा मंसिरमा बढेर ३ लाख ६८ हजार कित्ता पुगेको छ । 

धितोपत्र बजारका लगानीकर्ताले आफूसँग १० कित्ताभन्दा कम धितोपत्र भएमा अडलटमा कारोबार गर्न सक्ने व्यवस्था छ । 

नेप्सेले २०७९ वैशाखदेखि नियमित कारोबारसँगै अडलट कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि धितोपत्र कारोबारमा अडलटसम्बन्धी व्यवस्था रहे पनि शुक्रवार मात्रै कारोबार हुने गरेको थियो । 

अडलट कारोबारको लागि हप्ता दिन कुर्नुपर्ने व्यवस्था अन्त्य भएसँगै बजारमा यसको माहोल बढ्दै गएको लगानीकर्ता बताउँछन् । 

तर, कतिपय लगानीकर्तालाई यसबारे जानकारी भएको देखिँदैन । कतिपय लगानीकर्ताले सामाजिक सञ्जालमा राखेका अडलट कारोबारसम्बन्धी जिज्ञासाले पनि यो पुष्टि हुन्छ । लगानीकर्ताले अडलट कारोबार कहाँ र कसरी विक्री गर्ने भन्नेबारे सामाजिक सञ्जालमा जिज्ञासा राखेको देखिन्छ । 

ब्रोकरहरू पनि नयाँ लगानीकर्तालाई अडलट कारोबारबारे खासै जानकारी नभएको बताउँछन् । अडलट कारोबारसम्बन्धी जानकारी नहुँदा धेरै लगानीकर्ताको हितग्राही खातामै त्यस्ता शेयर रहेको उनीहरूको भनाइ छ । 

विवरण  मंसिर  कात्तिक  वृद्धि प्रतिशत 
कित्ता (हजारमा)  368.61 270.83
कारोबार रकम (रू. १० लाखमा) 267.64 220.51 21.38

स्रोत : नेप्से 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।