काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका ९ कम्पनीहरूमध्ये ६ कम्पनीले मात्र गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई, नेपाल ल्युब आयल, हिमालयन डिष्टिलरी, सर्वोत्तम सिमेन्ट र शिबम् सिमेन्टले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यीमध्ये केही कम्पनीले भने साधारण सभाबाट लाभांश पारित गराइसकेका छन् ।
यस समूहको युनिलिभर नेपालबाहेक बाँकी सबै कम्पनीको लाभांशदर घटेको छ । अघिल्लो आव २०७९/८० को मुनाफाबाट गत वर्ष १५८० प्रतिशत नगद लाभांश दिएको युनिलिभर नेपालले गत आवको मुनाफाबाट यो वर्ष १७१४ प्रतिशत नगद लाभांश दिएको हो । कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गराइसकेको छ ।
त्यस्तै बोटलर्स नेपाल तराईले गत आवको मुनाफाबाट शेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ मा साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नेपाल ल्युब आयलले भने प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराएर सूचीकृतसमेत गराइसकेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश करसहित गरेर कुल २५ प्रतिशत लाभांश दिएको हो ।
हिमालयन डिष्टीलरीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश करसहित गरेर कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यही पुस १९ मा बुक क्लोज गर्दैछ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीे साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
सर्वोत्तम सिमेन्टले गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २६ मा साधारण सभा बोलाएको छ । यस कम्पनीको बुक क्लोज भइसकेको छ ।
त्यस्तै शिवम् सिमेन्टले गत आवको मुनाफाबाट ८ दशमलव ५५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २९ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही पुस १७ गते बुक क्लोज गर्दैछ । यस बुक क्लोजको आधारमा भोलि अर्थात् पुस १६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कुन कम्पनीले कति दिँदैछन् ?
कम्पनीको नाम | २०८०/८१ सम्मको लाभांश % | कुल लाभांश % | २०७९/८० सम्मको लाभांश % | कुल लाभांश % | ||
बोनस शेयर | नगद लाभांश | बोनस शेयर | नगद लाभांश | |||
युनिलिभर नेपाल २० | १७१४ | १७१४ | १५८० | १५८० | ||
बोटलर्स नेपाल तराई | ५० | ५० | ६० | ६० | ||
नेपाल ल्युब आयल | २० | ५ | २५ | २५ | ५ | ३० |
हिमालयन डिष्टीलरी | १५ | ५ | २० | १० | १५ | २५ |
सर्वोत्तम सिमेन्ट | ७ | ३ | १० | १५ | १५ | |
शिवम् सिमेन्ट | ८.५५ | ०.४५ | ९ | १४.२५ | ०.७५ | १५ |
स्रोत : सम्बन्धित कम्पनीले प्रकाशित गरेको सूचना ।
तीन कम्पनीले भने लाभांश नदिने
उत्पादन तथा प्रशोधन समूहका तीन कम्पनीले भने गत आवको मुनाफाबाट लाभांश नदिने भएका छन् । लाभांश नदिनेमा बोटलर्स नेपाल बालाजु, घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड छन् ।
यी तीनओटै कम्पनीले पुस मसान्तभित्रै साधारण सभाको मिति तय गरेका छन् । बोटलर्स नेपाल बालाजुले पुस २६ मा, घोराही सिमेन्टले पुस २७ मा र सोनापुरले पुस २९ मा साधारण सभा बोलाएका हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।