काठमाडौं । प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यही माघ ६ गतेसम्म कायम संस्थापक शेयरधनीहरूको लागि १:१ (विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर) को अनुपातमा प्रतिशेयर रू. ५० अंकित मूल्यको शेयर यही माघ २४ गतेबाट निष्कासन गरिन लागिएको हो ।
कम्पनीले एक सूचना प्रकाशित गरी यसबारे आफ्ना शेयरधनीहरूलाई जानकारी दिएको छ । कम्पनीमा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी छ । कम्पनीले दोस्रो बजारमा समेत ठूलो लगानी गरेको छ ।
ठूला परियोजनामा लगानी गरी मुलकको विकास गर्ने कम्पनीको मुख्य उद्देश्य छ । कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमुलक उद्योग र साहसिक पर्यटनमा लगानी गरिरहेको छ ।
हाईड्रोपावरको विभिन्न संरचनामा चाहिने उपकरण आयात गरी भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई उपलब्ध गराउने उद्देश्यले कम्पनीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ३१ मा गत आर्थिक वर्षमा तीन बिगाहा जमिनसमेत खरीद गरेको जनाएको छ ।
कम्पनीले माथिल्लो दोर्दी खोला जलविद्युत आयोजना (२५ मेगावाट), सुपर आँखुखोला जल विद्युत आयोजना (२५.४ मेगावाट) र बुटवलको फूलबारी पार्क देउराली डाँडास्थित सञ्चालनमा आइसकेको भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केबलकार लिमिटेडमा लगानी गरेको छ ।
कम्पनीको मुख्य लगानी रहेको सिद्धार्थ केवलकार सञ्चालनमा आएको तीन महीनामै एक लाख १५ हजारभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटकहरूद्वारा केबलकारका साथसाथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका विभिन्न स्थलहरूको अवलोकन गरिसकेको कम्पनीको भनाइ छ ।
कम्पनीले बडिमालिका केबलकार, ईच्छाकामना केबलकार र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिबद्धता गरेको कम्पनीका कार्यकारी अधिकृत दिल प्रसाद अधिकारीले बताए । विभिन्न उत्पादनमुलक उद्योग र ठूला परियोजनामा लगानीको सम्झौता अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।
यस कम्पनीको सार्वजनिक शेयर निष्कासन गर्ने लगायतका सम्पूर्ण कार्य गर्न कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता समेत भइसकेको छ । कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्बको छ ।
यस कम्पनीले आईपीओ निष्कासनपछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ । यो कम्पनी विगत २ वर्षदेखि निरन्तर सञ्चालन मुनाफामा रहेको कम्पनीले जनाएको छ ।
हकप्रद शेयरमा आवेदन दिन चाहने शेयरधनीहरूले कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा. ३२, तीनकुने, काठमाडौंमा कार्यालय समयमा सम्पर्क गर्न सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा आवेदन दिने म्याद आगामी फागुन २८ गतेसम्म छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।