काठमाडौं । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो दिनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ ।
आजको बैठक शुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदहरूसँग अनुरोध गरेका थिए ।
आजको बैठकमा दलीय आधारमा समय निर्धारण गरेर विचार राख्ने व्यवस्था गरेकाले सोहीअनुसार बैठक सञ्चालनका लागि सहजीकरण गर्न उनले आग्रह गरेका थिए ।
‘हामीले बैठकको कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा पर्याप्त छलफल गरेका छौं । निर्धारण भएको कार्यसूचीअनुसार दलीय आधारमा सबैले आफ्ना कुरा राख्न पाउनुहुन्छ । तपाईंहरू आफ्नो आसनमा बसेर सभा सञ्चालनका लागि सहयोग गरिदिनुस्,’ सभामुख घिमिरेले भने ।
बैठकमा सभामुख घिमिरेले रास्वपा सांसदहरूलाई बस्न पटकपटक अनुरोध गरेका थिए । तर, पटकपटकको अनुरोध नमानेपछि सभामुख घिमिरेले बस्न आदेश दिए । तर, सभामुख घिमिरेको आदेशको रास्वपा सांसदहरूले अटेर गरेका छन् ।
रास्वपा सांसदहरूले आफ्ना कुरा राख्न आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेको छ । सभामुख घिमिरेले सबै दलहरूलाई बोल्नका लागि दलीय आधारमा समय निर्धारण भएकाले तोकिएको सोही समयमा आफ्ना कुरा राख्न आग्रह गरे ।
रास्वपा सांसदहरूको विरोधकै बीच आजको बैठक अघि बढेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।