अमेरिकाले क्यानाडा र मेक्सिकोबाट हुने आयातमा गरेको कर वृद्धि ३० दिनका लागि स्थगित

Share News

काठमाडौं । अमेरिकाले क्यानाडा र मेक्सिकोबाट हुने आयातमा गरेको कर वृद्धि ३० दिनका लागि स्थगित गरेको छ । दुवै देशले सीमामा कडा निगरानी राख्ने प्रतिवद्धता जनाएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रण र फेन्टनिल (औषधि)को ओसारपसार रोक्न अमेरिकासँगको सीमामा कडाइ गर्न सहमति जनाएका छन्।

क्यानडासँगको सहमतिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू प्रारम्भिक परिणामबाट एकदम सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्।

‘...शनिवार घोषणा गरिएको कर ३० दिनका लागि स्थगित गरिनेछ । ताकि क्यानडासँगको अन्तिम आर्थिक सम्झौतामा पुग्न सकिन्छ कि सकिँदैन भन्ने हेर्न सकियोस्,’ ट्रम्पले सामाजिक मिडियामा लेखेका छन्, ‘सबैको लागि निष्पक्षता !’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमवार अपराह्न ‘एक्स’मा पोस्ट गर्दै भने, ‘हामी सँगै काम गर्दा यो स्थगन हुनेछ।’ 

यसका लागि क्यानडाले फेन्टनिलको नाम घोषणा गर्ने, मेक्सिकन माफियाहरूलाई आतंकवादी समूहको सूचीमा राख्ने र ‘क्यानडा-यूएस संयुक्त स्ट्राइक फोर्स’ शुरु गर्ने उनले बताए । उक्त फोर्सले संगठित अपराध, मनी लाउन्डरिङ र फेन्टलिनको अवैध ओसारपसार नियन्त्रण गर्ने बताइएको छ । 

त्यसअघि उनले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमसँग पनि यस्तै सहमति गरेका थिए। मेक्सिकोकी राष्ट्रपतिले सीमामा थप १० हजार सैनिक खटाउन सहमति जनाएकी थिइन्।

त्यसको बदलामा अमेरिकाले मेक्सिकोमा उच्च शक्तिका हतियारहरूको ओसारपसार रोक्नको लागि काम गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । 

ट्रम्पले शनिबार मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत र क्यानडाको तेल, प्राकृतिक ग्यास र बिजुलीमा १० प्रतिशत कर लगाउने निर्देशन दिएका थिए । 

अमेरिकाबाट आयात हुने वस्तुमा थप १५ प्रतिशतसम्म भन्सार लगाउने चीनको घोषणा

चीनले अमेरिकाबाट आयात हुने वस्तुमा थप १५ प्रतिशतसम्म भन्सार लगाउने घोषणा गरेपछि संयुक्त राज्य अमेरिका र चीनबीच दोस्रो व्यापार (२.०) युद्ध आधिकारिक रुपमा शुरु भएको छ । 

हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोष्ट पत्रिकाको अनलाइन संस्करण अनुसार चीनले अमेरिकी वस्तुमा थप १० देखि १५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ ।

'कोइला र लिक्विफाइड नेचुरल ग्याँस (एलएनजी)मा १५ प्रतिशत कर लगाइनेछ,' बेइजिङको वाणिज्य मन्त्रालयले भनेको छ । चीनले अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि यन्त्र, ठूलो क्षमताको इन्जिन भएका सवारी साधन र पिकअप ट्रकमा भने १० प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

अमेरिकाले चिनियाँ वस्तुमा १० प्रतिशत थप भन्सार लगाउने घोषणा गरेपछि चीनले पनि उक्त घोषणा गरेको हो । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सबै चिनियाँ वस्तुमा १० प्रतिशत थप भन्सार लगाउने घोषणा गरको थियो, जुन मंगलवारबाट लागू भएको छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।