च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

फाइल तस्वीर ।

Share News

ललितपुर । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमास्थित च्यासल खेल मैदान गत असोजमा आएको बाढीले बगरमा परिणत भएको छ । 

खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु२ करोड आवश्यक हुने बताएका छन् ।च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु २ करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । 

उनले भने,'बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।' च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । 

मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरू मौन रहेकामा उहाँ दु:खी छन् । खेलकुद परिषद्सँग रु १० लाख माग गरेका तर हालसम्म निर्णय नभएको उनको कथन छ ।ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिनुहुन्छ । 

दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले रु २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।